विराटनगर । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीबाट दलित क्लष्टरमा उम्मेद्वारी दिएका खेम सुन्दास जनयुद्धकालमा जनमुक्ति सेनाको कमिसार थिए ।
उनी हाल पार्टीको केन्द्रीय आयोजक समिति सदस्य छन् । भोजपुरमा जन्मिएका उनको स्थायी बसोबास मोरङको सुन्दरहरैंचा–१२ हो । उनको राजनीतिक यात्रा २०५२ सालदेखि माओवादी आन्दोलनको सम्पर्कबाट सुरु भएको हो । २०५४ सालमा पार्टीको संगठित सदस्य बनेका उनी २०५५ सालदेखि पूर्णकालीन कार्यकर्ताका रूपमा भूमिगत भएका थिए ।
सशस्त्र द्वन्द्वका क्रममा राईले जनमुक्ति सेनामा रहेर बटालियन कमिसारको रूपमा सैन्य नेतृत्व निभाएका थिए । शान्ति प्रक्रियापछि उनी पुनः पार्टीको सांगठनिक काममा फर्किएका हुन् । उनले झण्डै २० वर्षसम्म पार्टीको क्षेत्रीय ब्यूरो सदस्यको रूपमा काम गरेका छन् ।
संसदीय राजनीतिमा सुन्दासको यो दोस्रो ठूलो उम्मेदवारी हो । यसअघि उनले २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा भोजपुर क्षेत्र नं. १ बाट उम्मेदवारी दिएका थिए । यद्यपि, उक्त निर्वाचनमा उनी पराजित बने ।
आफ्नो उम्मेदवारीका बारेमा कुरा गर्दै सुन्दासले अहिलेको राजनीतिक संकट समाधान र सामाजिक–आर्थिक रूपान्तरणका लागि वामपन्थी शक्तिहरूको विजय आवश्यक रहेको बताएका छन् । ‘हाम्रो मुख्य एजेण्डा सुशासन, समृद्धि, शान्ति र विकास हो,’ उनले भने, ‘पार्टीले अघि सारेको सुशासनको अभियानलाई तार्किक निष्कर्षमा पु¥याउन मेरो भूमिका रहनेछ ।’ एसएलसीसम्मको औपचारिक शिक्षा हासिल गरेका उनले पार्टीभित्र एक निष्ठावान् र तल्लो तहबाट आएका नेताका रूपमा चिनिन्छन् । निर्वाचनमा जित हार भन्दा पनि इज्जत र सम्मानको लागि प्रतिस्पर्धा गरेको उनले बताए ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।