लोड हुँदैछ...

मेनु

सम्भ्रान्त सुनिलबहादुर थापाको राष्ट्रियसभाको यात्रा

सम्भ्रान्त सुनिलबहादुर थापाको राष्ट्रियसभाको यात्रा

विराटनगर । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि काँग्रेसका सुनिलबहादुर थापाले अन्य कोटाबाट उम्मेद्वारी दिए । उम्मेद्वारी दिएपछि सञ्चारकर्मीले थापालाई सोधे, ‘पटक–पटक प्रत्यक्षमा हार व्यहोरेपछि सुरक्षित हुन राष्ट्रियसभा रोज्नुभएको हो ? ।’ उनले जवाफ दिए, ‘सजिलो र अप्ठ्यारो भन्ने सबै ठाउँमा हुन्छ । धनकुटा लड्न जाँदा पनि १ सय प्रतिशत जितिन्छ भनेरै गएको हो, यहाँ पनि १ सय प्रतिशत नै हो ।’

उनको यो भनाइ यतिबेला सार्थक भएको छ । विगतमा जनमतबाट पराजित भए पनि यसपटक उनी विना प्रतिस्पर्धि माथिल्लो सदनको सांसद बन्ने यात्रामा सफल हुने देखिएको छ ।

कांग्रेस नेता थापाका लागि विगतका दुईवटा संसदीय निर्वाचन सुखद थिएन । उनले त्यो पराजयलाई चिर्दै राष्ट्रियसभा सदस्यमा निर्विरोध निर्वाचित भएको घोषणा हुन मात्रै बाँकी छ । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि कोशी प्रदेशबाट उम्मेदवारी दिएका थापाको यात्रा मुख्य प्रतिस्पर्धी मानिएका नेकपाका उम्मेदवार हेमराज घिमिरे समयमै उपस्थित हुन नसकेपछि सहज भएको हो ।

थापाका लागि विगतका दुई निर्वाचन भने निकै भारी परेका थिए । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट धनकुटामा चुनावी मैदानमा थिए । तर, वाम गठबन्धनका साझा उम्मेदवार नेकपा एमालेका राजेन्द्रकुमार राईसँग उनी पराजित भए ।

२०७७ सालमा बुबा सूर्यबहादुर थापाको विरासत बोकेको राप्रपा त्यागेर उनी नेपाली कांग्रेसमा प्रवेश गरे । २०७९ को आम निर्वाचनमा कांग्रेसको रुख चिह्न लिएर उनी पुनः धनकुटाकै मैदानमा ओर्लिए । तर, नियति उस्तै रह्यो । उनलाई पुनः राजेन्द्रकुमार राईले नै पराजित गरे । प्रत्यक्ष निर्वाचनमा दुईपटकको हारले उनलाई केही समय राजनीतिक ओझेलमा पारेको थियो ।

प्रत्यक्ष निर्वाचनमा सफलता हात नलागे पनि थापाको राजनीतिक उचाइ भने कम भएन । उनी केही दिन अगाडिसम्म राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख राजनीतिक सल्लाहकारको रूपमा शीतल निवासमा कार्यरत थिए । तर, सक्रिय संसदीय राजनीतिमै फर्किने हुटहुटीले उनले सल्लाहकार पदबाट राजीनामा दिएर राष्ट्रियसभाको बाटो रोजे ।

मनोनयन दर्ताका क्रममा उनले भनेका थिए, ‘राजनीति गर्ने मान्छे फेरि राजनीतिकै मूलधारमा फर्किनुपर्छ भनेर म मेनस्ट्रिममा फर्किएको हुँ ।’ संयुक्त राष्ट्रसंघमा लामो समय कुटनीतिक अनुभव संगालेका र पूर्वमन्त्री समेत भइसकेका थापाका लागि राष्ट्रियसभाको यो कार्यकाल विजयको सुरुवात हुनेछ । दुईपटकको चुनावी हारपछि निर्विरोध रूपमा संसद् प्रवेश गर्नु उनका लागि एउटा ठूलो राजनीतिक पुनरागमन हो ।

विगतमा धनकुटाको चुनावी अंकगणितले साथ नदिए पनि जहाँ भए पनि शतप्रतिशत नतिजा निकाल्ने उनको दाबी यसपटक राष्ट्रियसभामा प्राविधिक रूपमै सही सावित भएको छ । उनले राष्ट्रियसभालाई एक प्रतिष्ठित सभा भएको बताउ । उनले भने, ‘राष्ट्रियसभा एउटा गरिमामय ठाउँ हो, जहाँ मुलुकका समस्याहरू राखेर समाधानका लागि सबै पक्षसँग सहकार्य गरिन्छ । म त्यही कामका लागि जान लागेको हुँ ।’

थापाको परिचय

सुनिलबहादुर थापा नेपाली राजनीतिकर्मी तथा पूर्वमन्त्री हुन् । यिनी नेपाली कांग्रेस को १४ औं अधिवेशन बाट केन्द्रीय सदस्य निर्वाचित भए । उनले २०७० सालको संविधानसभा निर्वाचनमा धनकुटा जिल्ला क्षेत्र नं. २ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट प्रत्यक्ष सीटबाट विजय हासिल गरेका थिए ।

यिनी २०७४ जेठमा बनेको शेरबहादुर देउवाको मन्त्रीमण्डलमा वाणिज्य तथा आपूर्ति मन्त्री बनेका थिए । थापाले लामो समय संयुक्त राष्ट्रसंघ अन्तरगत विभिन्न देशमा सेवा गरेका छन् । उनी सन् २०११ मा शरणार्थी सम्बन्धि राष्ट्रसंघीय उच्च आयोगको सुडानमा कार्यरत रहेका बेला राजीनामा गरी राजनीतिमा प्रवेश गरेका थिए । त्यसपछि उनी राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । उनी २०७७ साल कार्तिकमा भने नेपाली कांग्रेस प्रवेश गरी सह–महामन्त्री बनेका थिए । थापा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन् । थापाको जन्म २०१६ साल वैशाख १ गते धनकुटाको पाख्रिबास मुगामा भएको हो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds