लोड हुँदैछ...

मेनु

नोबेल बाहिरको फार्मेसी ठगी प्रकरण : एनसीडिए मोरङद्धारा दोषीमाथि कारवाहीको माग

नोबेल बाहिरको फार्मेसी ठगी प्रकरण : एनसीडिए मोरङद्धारा दोषीमाथि कारवाहीको माग

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेज बाहिरको एक फार्मेसीले बिरामीका आफन्तलाई ठगी गरेको घटना सार्वजनिक भएपछि नेपाल औषधि व्यवसायी संघ, मोरङले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघले एक विज्ञप्ति जारी गर्दै उक्त घटनामा संलग्नलाई कडा कानुनी कारवाही गर्न माग गरेको छ ।

के थियो घटना ?
नोबेल अस्पतालमा उपचाररत बिरामीका आफन्तले शल्यक्रियाका लागि आवश्यक औषधि खरिद गर्न अस्पताल बाहिरको एक फार्मेसीमा पुगेका थिए । आर्थिक अभावका कारण उधारोमा कारोबार गर्ने गरी पुर्जा दिएका सेवाग्राहीलाई फार्मेसी सञ्चालकले चलाखीपूर्ण ढंगले ठगी गरेका थिए । चिकित्सकले सिफारिस गरेको पुर्जा (प्रेस्क्रिप्सन) मा उल्लेखित औषधिको संख्यामा थप अंक थपेर परिमाण बढाई बढी रकम असुलेको पाइएको हो ।

उदाहरणका लागि, ६४० रुपैयाँ पर्ने रेक्युमिड (१ लेखिएको स्थानमा पछाडि ५ थपेर १५ बनाइएको र १ हजार २०८ रुपैयाँ पर्ने डेस्टिमिड १ मा ८ थपेर १८ बनाइएको भेटिएको छ । बिरामीका आफन्त सचेत भई चिकित्सकको पुर्जा र फार्मेसीले दिएको बिल भिडाउँदा यो ठगी बाहिर आएको हो । घटना सार्वजनिक भए लगत्तै फार्मेसी सञ्चालक सटर बन्द गरेर फरार भएका छन् ।

नेपाल औषधि व्यवसायी संघ मोरङका अध्यक्ष देशबन्धु ढकालद्वारा जारी ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘विगत २०३० सालदेखि औषधि व्यवसायीको हकहित र सामाजिक कार्यमा क्रियाशील संस्थामा आबद्ध सदस्यहरूको चरित्र नै हत्या हुने गरी विभागमा समेत दर्ता नभएका केही औषधि पसलहरूले गरेको गलत क्रियाकलापका कारण सम्पूर्ण व्यवसायीहरू बदनाम हुने अवस्था सिर्जना भएको छ ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यस्ता कार्य गर्नेलाई कडा भन्दा कडा कानुनी कारवाही गर्न संघ सम्बन्धित निकायसँग जोडदार माग गर्दछ ।’ संघले औषधि खरिद गर्दा अनिवार्य रूपमा आधिकारिक औषधि पसलबाट बिल लिएर मात्र खरिद गर्न सम्पूर्ण उपभोक्ताहरूलाई आग्रह समेत गरेको छ ।

यस घटनापछि नोबेल मेडिकल कलेज प्रशासनले पनि गम्भीर चासो देखाएको छ । अस्पतालका महाप्रबन्धक दिपेश राईका अनुसार, सेवाग्राहीहरू हतारमा हुने र औषधिको परिमाण यकिन नगर्ने कमजोरीको फाइदा फार्मेसीले उठाएको देखिन्छ । यस्ता ठगी रोक्न अब अस्पतालले हातले लेखिने पुर्जाको सट्टा कम्प्युटर प्रणाली डिजिटल प्रेस्क्रिप्सन लागू गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।