विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एमाले–कांग्रेस समीकरणलाई बाट १० जना नयाँ मन्त्री र राज्यमन्त्री नियुक्त गरेका छन् ।
बाहल रहेका १० जना मन्त्री हटाएर उनले नयाँ मन्त्रीहरूको नियुक्ति गरेका हुन् । नयाँ मन्त्री नियुक्त गर्दा काँग्रेस र एमाले दुवै दलले आफ्ना आन्तरिक गुटहरूलाई व्यवस्थापन गर्ने प्रयास गरेको देखिन्छ । मन्त्रिपरिषद्मा ५ जना नेपाली कांग्रेसबाट र ५ जना नेकपा (एमाले) बाट समेटिँदा दलितको प्रतिनिधित्व शून्य बनाइएको छ भने महिलाको प्रतिनिधित्व १ राज्यमन्त्रीमा सिमीत गरिएको छ ।
कांग्रेसमा गुटगत भागबण्डाः देउवादेखि कोइराला पक्षसम्म
नेपाली कांग्रेसले यसपटक मन्त्री छनोट गर्दा पार्टीभित्रका तीनवटै मुख्य शक्ति केन्द्रलाई चित्त बुझाउने प्रयास गरेको छ ।
प्रदिपकुमार सुनुवार (भौतिक पूर्वाधार विकास मन्त्री): पार्टी सभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने सुनुवार ओखलढुङ्गा १ (१) बाट निर्वाचित हुन् । उनी चौथो पटक मन्त्री बनेका छन् । २०४३ सालदेखि राजनीतिमा सक्रिय सुनुवार यसअघि छोटो समयका लागि तीन पटक मन्त्री भइसकेका छन् । उनको अनुभव र संस्थापन पक्षको प्रतिनिधित्वका कारण उनले महत्त्वपूर्ण मन्त्रालय पाएका हुन् ।
भीम पराजुली (पर्यटन, वन तथा वातावरण मन्त्री) : मोरङ ४ (२) बाट निर्वाचित पराजुली नेता कृष्णप्रसाद सिटौला पक्षका हुन् । विराटनगरका पूर्वमेयर पराजुलीको विशेषता भनेको उनी हालसम्म कुनै पनि निर्वाचनमा पराजित भएका छैनन् । विद्यार्थी राजनीतिदेखि १० पटक चुनाव जितेका उनलाई भावी मुख्यमन्त्रीका रूपमा पनि हेर्ने गरिन्छ ।
मानबहादुर लिम्बू (स्वास्थ्य मन्त्री) : मोरङ ३ (१) बाट निर्वाचित लिम्बू डा. शेखर कोइराला पक्षका हुन् । सुरुमा मन्त्री बन्नबाट वञ्चित भएका लिम्बू यसपटक कोइराला पक्षको बार्गेनिङ पछि मन्त्रिपरिषद्मा अटाएका हुन् ।
इस्राइल मन्सुरी (उद्योग, कृषि तथा सहकारी मन्त्री) : सुनसरी ४ (२) बाट निर्वाचित मन्सुरी नेता ज्ञानेन्द्रबहादुर कार्की निकट मानिन्छन् । उनी विवादास्पद पृष्ठभूमिका कारण चर्चामा छन् । प्रदेशसभाको अध्यक्षता गर्दा तत्कालीन मुख्यमन्त्री उद्धव थापालाई असंवैधानिक रूपमा मतदान गरेको र सभामुख लेखिएको लेटरप्याड प्रयोग गरेको आरोप उनीमाथि छ ।
शोभा चेम्जोङ (भौतिक पूर्वाधार विकास राज्यमन्त्री) : मोरङकी स्थायी बासिन्दा चेम्जोङ समानुपातिक सांसद हुन् । उनी महिला सशक्तिकरण र सामाजिक क्षेत्रमा सक्रिय छिन् ।
एमालेमा अनुभवी र नयाँ अनुहार
मुख्यमन्त्री कार्कीको आफ्नै दल एमालेले पनि मन्त्री छनोटमा जिल्ला र अनुभवलाई ध्यान दिएको छ ।
विदुरकुमार लिङ्थेप (आर्थिक मामिला तथा योजना मन्त्री): संखुवासभाका लिङ्थेप मादी नगरपालिकाका पूर्वमेयर हुन् । चीन र नेपालबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका उनी बौद्धिक नेताका रूपमा चिनिन्छन् । उनी यसअघि एमालेको प्रमुख सचेतक थिए ।
इन्द्रमणि पराजुली (आन्तरिक मामिला तथा कानून मन्त्री): धनकुटाबाट दोस्रो पटक निर्वाचित पराजुली एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छन् । विद्यार्थी राजनीतिबाट आएका उनीसँग संसदीय समितिको सभापति भएर काम गरेको अनुभव छ । उनलाई एमाले सचिव शेरधन राईको संरक्षण रहेको चर्चा छ ।
तिलचन पाठक (खानेपानी, सिँचाई तथा ऊर्जा मन्त्री) : झापाका स्थापित कानुन व्यवसायी पाठक बौद्धिक र शालीन नेता मानिन्छन् । २०३६ सालदेखि विद्यार्थी राजनीतिमा होमिएका पाठक एमालेका केन्द्रीय सदस्य हुन् ।
रामप्रसाद मेहता (सामाजिक विकास मन्त्री): सुनसरीका मेहता पूर्वकांग्रेस हुन् । २०७४ मा एमाले प्रवेश गरेका उनले कांग्रेसका प्रभावशाली नेता राजीव कोइरालालाई पराजित गरेपछि चर्चामा आएका थिए । यसअघि १४ दिन मात्र राज्यमन्त्री बनेका उनले यसपटक फूल मन्त्रीको जिम्मेवारी पाएका छन् ।
उमाकान्त गौतम (आन्तरिक मामिला तथा कानून राज्यमन्त्री): मोरङका पुराना कम्युनिष्ट नेता गौतमले उर्लाबारी क्षेत्रको संगठन निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेका छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।