लोड हुँदैछ...

मेनु

जो विवादित थिए, मन्त्री बने

जो विवादित थिए, मन्त्री बने

विराटनगर । उद्योग, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त भएका इसराइल मन्सुरी २०७९ सालको निर्वाचनमा सुनसरी क्षेत्र नम्बर ४(२) बाट विजयी भएका थिए । नेपाली कांग्रेसका सांसद मन्सुरीले नेकपा (एमाले)का हाजी अब्बास अन्सारीलाई पराजित गरेका थिए ।

प्रदेशसभामा पहिलो पटक निर्वाचित भएपछि उनका केही कदम विवादास्पद बने । उनले सभामुखको अनुपस्थितमा प्रदेशसभा संचालन गर्ने र तत्कालिन मुख्यमन्त्री उद्धब थापालाई विश्वासको मत दिने काम एउटै बैठकमा गरेका थिए ।

२०८० असार २१ गते सभामुख बाबुराम गौतमको समेत समर्थनमा उद्धब थापा मुख्यमन्त्री बने । संविधानको धारा १६८ (२) अनुसार नै नियुक्त भएका उनलाई सभामुखले समर्थन गर्न नपाउने भन्दै सर्वोच्च अदालतको आदेशले साउन ११ गते पदमुक्त गर्यो ।

उनलाई विश्वासको मत नपुग्ने भएपछि तत्कालिन गठबन्धन दलहरु काँग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) र जसपाले माओवादीबाट सभामुख बनेका गौतमलाई राजीनामा दिन लगायो र उनको समर्थनमा पुनः संविधानको सोही धारा र उपधारा अनुसार साउन १७ गते थापा मुख्यमन्त्रीमा नियुक्त भए । तर, थापालाई विश्वासको मत लिने बेलामा फेरि अर्को संकट आइलाग्यो । थापाले विश्वासको मत लिने समय भदौ १३ गतेसम्म थियो । तर, उनले त्यसअगाडि नै भदौ ४ गते विश्वासको मत लिने तयारी गरे ।

सभामुखले पनि राजीनामा दिएको अवस्थामा प्रदेशसभा चलाउनु पर्ने प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवार भने मुख्यमन्त्रीलाई विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा बैठक बोलाएर ‘अचानक स्वास्थ्यमा समस्या देखिएको’ भन्दै काठमाडौं लागिन् । उनले प्रदेशसभाको अध्यक्ष मण्डलका सदस्य रहेका काँग्रेस सांसद इस्राइल मन्सुरीलाई बैठक संचालन गर्ने जिम्मा दिइन् ।

मन्सुरीले सभाध्यक्ष गरेपछि थापालाई बहुमत ४७ पुर्याउन १ मत कम हुनथ्यो । त्यही कमजोर प्राविधिक पक्ष हेरेर एमालेले आफ्नो तर्फको उपसभामुखलाई बिरामीको बाहनामा काठमाडौं पुर्याएको थियो ।
तर, तत्कालिन सत्तारुढ दलले प्रदेशसभाका अध्यक्षता पनि मन्सुरीले गर्ने र मतदान पनि गर्ने निर्णय गरे । त्यसपछि मन्सुरीले पनि मतदानमा सहभागी भए र बहुमत (४७) सांसद पुर्याए । अदालतले सभाध्यक्षको मतलाई अस्वीकार गर्यो र मुख्यमन्त्री थापाको पद गयो ।

९३ जना प्रदेशसभा सांसद रहेको प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत लिन ४७ सांसदको समर्थन चाहिन्थ्यो । त्यसका लागि काँग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा (एकीकृत समाजवादी)का ४ र जसपाको १ सांसद गरी ४७ पुग्छन् । तर, काँग्रेसकै सांसद मन्सुरीले प्रदेशसभा संचालन गर्नुपर्ने भएपछि त्यसबेला गठबन्धन अप्ठ्यारोमा परेको थियो ।

सोही समयमा मन्सुरीले अर्को विवादास्पद काम गरेका थिए । प्रदेशसभाको अध्यक्ष मण्डलको सदस्य रहेका उनले आफूलाई सभामुख भन्दै लेटरप्याड नै सार्वजनिक गरेपछि आलोचना भएको थियो । उनले प्रदेश सरकारले भर्खरै पारित गरेको बजेटमा आफ्नो क्षेत्रमा पारेका योजनाहरुको विस्तृत विवरण पत्र मार्फत सार्वजनिक गरेका थिए । उक्त पत्रमा माननीय इस्राइल मन्सुरी, सभामुख कोशी प्रदेशसभा, नेपाल लेखिएको थियो । सबैले आलोचना गरेपछि पछि उनले उक्त पत्र हटाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।