काठमाडौँ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा मुलुकका दुई ठूला दल नेकपा (एमाले) र नेपाली कांग्रेसबीच चुनावी तालमेल हुने भएको छ । मंगलबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको एमाले सचिवालय बैठकले कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने औपचारिक निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले उपमहासचिव लेखराज भट्टले राष्ट्रियसभाका रिक्त पदमध्ये एमालेले ७ सिट पाउनुपर्ने दाबी गरेको जानकारी दिए । एमालेले सातै प्रदेशबाट एक–एक सिट पाउनुपर्नेमा जोड दिएको छ । यद्यपि, कुन क्लस्टर (समूह) लिने भन्ने विषयमा भने अन्तिम टुङ्गो लाग्न बाँकी रहेको उनले बताए ।
‘राष्ट्रियसभा निर्वाचनमा कांग्रेससँग मिलेर जाने निर्णय भएको छ । तर सिट बाँडफाँटमा भने कुरा मिल्न बाँकी छ,’उपमहासचिव भट्टले भने, ‘विभिन्न क्लस्टरहरू मिलाउनुपर्ने भएकाले यति नै लिने भन्ने निश्चित भइसकेको छैन, यसलाई दुई दलले आपसी समझदारीमा टुङ्गो लगाउनेछौँ । बैठकले उम्मेदवार चयन गर्ने सम्पूर्ण जिम्मेवारी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।
यसअघि सोमबार राति कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकले अध्यक्ष ओलीको निवास गुण्डु पुगेर संवाद गरेका थिए । उक्त संवादपछि एमाले र कांग्रेस राष्ट्रियसभा निर्वाचनमा मिल्ने विन्दुमा पुगेका हुन् । कांग्रेसले यसअघि नै निर्वाचनमा ८ सिट आफूले राख्ने आन्तरिक निर्णय गरिसकेको छ ।
राष्ट्रियसभाका १८ पदका निम्ति भोलि बुधबार (पुस २३ गते) उम्मेदवारको मनोनयनपत्र दर्ता गरिँदै छ भने निर्वाचन आगामी माघ ११ गते हुने तालिका छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।