काठमाडौँ । नेकपा (एमाले)ले सातै प्रदेशका लागि प्रदेश तथा निर्वाचन संयोजकको जिम्मेवारी तोकेको छ। आज बसेको पार्टीको सचिवालय बैठकले नेताहरूको कार्यविभाजन गर्दै प्रदेश र निर्वाचनको कमान्ड सम्हाल्ने गरी नयाँ जिम्मेवारी सुम्पेको हो।
पार्टीका उपमहासचिव लेखराज भट्टका अनुसार बैठकले सातै प्रदेश र राजधानीका लागि अलग–अलग संयोजकहरू चयन गरेको छ। जसअनुसार कोशी प्रदेशको संयोजकमा शेरधन राई र मधेश प्रदेशको संयोजकमा लीलानाथ श्रेष्ठलाई जिम्मेवारी दिइएको छ।
त्यसैगरी, बागमती प्रदेशको संयोजकमा महेश बस्नेत चयन भएका छन् भने राजधानी (काठमाडौँ) को संयोजन गर्ने जिम्मेवारी डा. राजन भट्टराईलाई दिइएको छ। गण्डकी प्रदेशमा खगराज अधिकारी, कर्णाली प्रदेशमा यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशमा गणेश ठगुन्नाले संयोजकको भूमिका निभाउनेछन्।
बैठकले पार्टीको सांगठनिक सुदृढीकरणका लागि महत्त्वपूर्ण मानिने संगठन विभागको जिम्मेवारी नेता भानुभक्त ढकाललाई दिने निर्णय पनि गरेको छ। आगामी निर्वाचन र पार्टीको आन्तरिक संगठनलाई चलायमान बनाउन एमालेले नेताहरूलाई यो नयाँ जिम्मेवारी तोकेको उपमहासचिव भट्टले जानकारी दिए।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।