विराटनगर । विराटनगरस्थित हरी श्रेष्ठले संचालन गरेको पञ्चबुद्ध ढुवानी सेवाले नक्कली बिलबिजक खडा गरी तस्करीका सामान गन्तव्यसम्म पुर्याउने गरेको पाइएको छ ।
भारतबाट अवैध रूपमा भित्राइएका सामग्रीलाई वैधानिक रूप दिन नक्कली कागजात बनाएर ढुवानी गर्ने गरिएको खुलासा सशस्त्र प्रहरीको पछिल्लो कारबाहीबाट भएको हो ।
सोमबार विराटनगर–५ स्थित बिजुली अफिस नजिकैबाट तस्करीको ठूलो परिमाणको खाद्य पूरक सामग्री (फुट सप्लिमेन्ट) सहितको ट्रक नियन्त्रणमा लिएपछि पञ्चबुद्ध ढुवानीको अवैध धन्दा सार्वजनिक भएको हो । सशस्त्र प्रहरी बल मोरङका अनुसार, सशस्त्र प्रहरी निरीक्षक तारानाथ गौतमको टोलीले प्रदेश १–०२–००१ ख ९७४२ नम्बरको ट्रकमा लोड गरिएको साढे ५ लाख रुपैयाँभन्दा बढीको भन्सार छलीको सामग्री बरामद गरिएको छ ।
सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी राजेश घिमिरेले लामो समयको निगरानी र विशेष सूचनाका आधारमा यो गिरोहलाई पक्राउ गर्न सफल भएको बताए । ‘क्यारिङमार्फत अवैध रूपमा ल्याइएका सामान ढुवानी सेवामा थुपार्ने र त्यहाँबाट नक्कली बिल बनाएर गन्तव्यसम्म पुर्याउने गरेको पाइयो,’ एसपी घिमिरेले सित भने, ‘पञ्चबुद्ध ढुवानीमार्फत धरानतर्फ लैजान लागिएको अवस्थामा हामीले तस्करीको सामान बरामद गरेका हौं ।’

प्रहरीले ५ लाख ७६ हजार रुपैयाँ बराबरको २ हजार ८ सय ८० थान खाद्य पूरक सामग्री बरामद गरेको छ । बरामद सामान र ४ लाख रुपैयाँ मूल्याङ्कन गरिएको ट्रकलाई आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको छ ।
प्रहरीले तस्करीको सामान ओसारपसारमा संलग्न मोरङ धनपालथान–६ का रोशनकुमार राजवंशीलाई नियन्त्रणमा लिएको छ । राजवंशीले नै पञ्चबुद्ध ढुवानी सेवामार्फत उक्त अवैध सामग्री धरान पठाउने सेटिङ मिलाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ढुवानी सेवाकै आडमा संगठित रूपमा भइरहेको यो तस्करीको जालोबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।
शरिरलाई सन्तुलित राख्न खानाको बिकल्पमा चिकित्सकलले खाद्य पुरक सामाग्रीहरु लेख्ने गरेका छन् । त्यसैले गर्दा पछिल्लो समय खाद्य पुरक सामाग्रीको तस्करी हुने गरेको छ । यसअघि विराटनगर ५ खाद्य पुरको सामाग्री आयत गर्ने विपिन झालाई राजस्व अनुस्न्धान कार्यालयले पक्राउ गरेको थियो । उनले म्याद गुज्रेको खाद्य पुरक समाग्रीमा नयाँ लेबल लगाएर विक्री वितरण देखि भारतदेखि भरिया प्रयोग गरेर खाद्य पुरकको तस्करी गर्दै आएका थिए । पछि राजस्व अनुसन्धान कार्यालयले मुद्दा चलाएपछि उनी धरौटिमा रिहा भएका थिए ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।