विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज मंगलबार मन्त्रिपरिषद् विस्तार तथा हेरफेर गर्ने भएका छन् ।
सत्ता साझेदार दुई ठूला दल नेकपा (एमाले) र नेपाली कांग्रेसबीच मन्त्री फेरबदल गर्ने सहमति जुटेसँगै मंगलबार दिउँसो ४ बजे नयाँ मन्त्रीहरूको शपथ ग्रहणको तयारी गरिएको छ ।
नेपाली कांग्रेस कोशी संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङका अनुसार कांग्रेसले प्रदीप सुनुवारको नेतृत्वमा चार जना मन्त्री र एक जना राज्यमन्त्री पठाउने निर्णय गरेको छ ।
कांग्रेसबाट प्रदीप सुनुवार भौतिक पूर्वाधार, मानबहादुर लिम्बु स्वास्थ्य, इसरायल मन्सुरी कृषि र भीम पराजुली पर्यटन तथा वन वातावरण मन्त्री बन्ने भएका छन्। त्यस्तै, शोभा चेम्जोङलाई भौतिक पूर्वाधार राज्यमन्त्री बनाइने भएको छ।
यसैगरी नेकपा (एमाले)ले पनि मन्त्रीहरूको नाम र जिम्मेवारी टुंगो लगाएको छ । एमालेबाट विदुर लिङथेप आर्थिक मामिला तथा योजना मन्त्री, चिन्तन पाठकलाई खानेपानी, सिँचाइ तथा ऊर्जा, इन्द्रमणि पराजुली आन्तरिक मामिला तथा कानून र रामकुमार महतो सामाजिक विकास मन्त्री बन्ने भएका छन् ।
एमालेकै उमाकान्त गौतमलाई मुख्यमन्त्रीको कार्यालयमा राज्यमन्त्रीको जिम्मेवारी दिइने तयारी छ । सत्तारुढ दलहरूबीच भएको पछिल्लो सहमति अनुसार दुवै दलले दुई/दुई जना राज्यमन्त्री राख्ने समझदारी भएको छ ।
मंगलबार भने एक÷एक राज्य मन्त्री मात्रै बनाउने सहमति भएको कांग्रेस सचेतक तामाङले बताए । प्रदेश प्रमुखको कार्यालयले शपथ ग्रहणको औपचारिक जानकारी नआए पनि तयारी भने थालिएको जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।