विराटनगर । २०७९ सालको निर्वाचनबाट उदाएको रास्वपाबाट निर्वाचन लड्नेहरु उत्साहित देखिएका छन् । मोरङका सबै क्षेत्रबाट हालसम्म १६ जनाको उम्मेद्वारी परिसकेको रास्वपा मोरङका कोषाध्यक्ष सन्तोष सिंहले बताए ।
उनका अनुसार मोरङको क्षेत्र नम्बर १ र २ बाट ३–३ जना, क्षेत्र नम्बर ३ बाट सुनिलदत्त अधिकारीलगायत ३ जनाले निवेदन दिइसकेको र अरु ३ जना निवेदन दिने प्रक्रियामा रहेको, क्षेत्र नम्बर ४ बाट तेजलाल कर्णसहित ३ जनाले निवेदन दिएको र २ जना प्रक्रियामा रहेको, क्षेत्र नम्बर ५ बाट २ जनाले निवेदन दिएको र ६ नम्बर क्षेत्रबाट यादव प्रधान र गुनानन्द महतो गरी दुई जनाले निवेदन दिएका छन् । ‘निवेदन आउने क्रम जारी छ,’ उनले भने, ‘आकांक्षी उम्मेद्वारको संख्या बढ्न सक्छ । निवेदन दिनका लागि अझै दुई दिनको समय छ ।’
रास्वपा कोशी प्रदेश संयोजक सरिन तामाङले ‘प्राइमरी’ निर्वाचन पछि मात्रै उम्मेद्वार फाइनल हुने बताइन् । उनले भने, ‘हाम्रो चाहिँ अब यो पुरानो दलले जस्तै गरेर तिमी यहाँको उम्मेदवार, तिमी फलाना ठाउँको उम्मेदवार भनेर तोक्ने अवस्था छैन । हाम्रो चाहिँ अनलाइन फर्म भरिसकेपछि यदि निर्विरोध एकजना मात्र भयो भने उसले कुनै पनि प्रारम्भिक निर्वाचन (प्राइमरी इलेक्सन) मा भाग लिनु परेन, दुईजना तीनजना भयो भने चाहिँ प्राइमरीमा भाग लिनै पर्ने पार्टीको कार्यविधि छ ।’
समानुपातिक उम्मेदवारका लागि ५० हजार निवेदनको दर्ता शुल्क तोकेको रास्वपाले प्रत्यक्षका लागि २५ हजार तोकेको छ । ‘हाम्रो समानुपातिकमा दर्ता शुल्क ५० हजार छ, प्रत्यक्षमा २५ हजार छ । यदि कुनै उम्मेदवार सक्षम छन्, उनले समाज र देशलाई योगदान दिएका छन् र उनी राजनीतिमा आउन चाहन्छन् तर पैसा छैन भने पार्टीले नगर तह वा वडा कार्यालयबाट सिफारिस लिएर आएमा दर्ता शुल्क निःशुल्क गर्ने प्रावधान पनि राखेको छ,’ उनले भने ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।