विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बहालवाला १० जना मन्त्रीलाई हटाएर मन्त्रीमण्डलमा सबै नयाँ ल्याउने तयारी गरेका छन्।
एमाले संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपका अनुसार नयाँ मन्त्रीहरूको नियुक्ति र शपथ ग्रहण बुधबारसम्ममा भइसक्नेछ। यसका लागि एमाले संसदीय बोर्डको बैठक मंगलबार बोलाइएको छ भने मुख्यमन्त्री कार्की पार्टीको सचिवालय बैठकमा सहभागी हुन र शीर्ष नेतासँग परामर्श गर्न काठमाडौं पुगेका छन्।
२०८१ वैशाख २७ मा गठन भएको कार्की नेतृत्वको सरकारमा पहिले माओवादी र एकीकृत समाजवादी सहभागी थिए। केन्द्रमा समीकरण फेरिएसँगै ती दल बाहिरिएपछि २०८१ भदौ २७ गते नेपाली काँग्रेस सरकारमा सहभागी भएको थियो। काँग्रेसभित्रको आन्तरिक विवादका कारण रोकिएको मन्त्रिपरिषद् हेरफेर अहिले अगाडि बढाइएको हो।
स्रोतका अनुसार काँग्रेसले प्रदीपकुमार सुनुवारलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, भीम पराजुली पर्यटन, वन तथा वातावरण मन्त्रालय, मानबहादुर लिम्बू स्वास्थ्य मन्त्रालय र इस्राइल मन्सुरी उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा पठाउने तयारी गरेको छ ।
एमालेबाट इन्द्रमणि पराजुली, विदुर लिङ्थेप, ज्ञानेन्द्र सुवेदी वा रामप्रसाद महतो र तिलचन पाठकलाई मन्त्री बनाउने चर्चा छ। स्रोतका अनुसार आर्थिक मामिला तथा योजना मन्त्रालय तथा आन्तरिक मामिला तथा कानून मन्त्रालयमा पराजुली र लिङ्थेपमध्ये १ जनालाई जिम्मेवारी दिने तयारी रहेको छ । यस्तै सामाजिक विकास मन्त्रालयमा सुवेदी र महतोमध्ये एक जनालाई तथा सिंचाइ तथा उर्जा मन्त्रालयमा तिलचन पाठकलाई दिने तयारी भएको एमाले स्रोतको दाबी छ ।
हाल प्रदेश सरकारमा एमालेबाट मुख्यमन्त्रीसहित ६ र काँग्रेसबाट ४ जना मन्त्री तथा राज्यमन्त्री छन्। २०७९ सालको प्रदेश सभा निर्वाचनपछि कोशी प्रदेशमा यो १८ औं पटकको सरकार विस्तार हुनेछ। यसअघि हिक्मतकुमार कार्की, उद्धब थापा र केदार कार्कीको नेतृत्वमा पटक–पटक सरकार गठन र विस्तार भएका थिए। पछिल्लो पटक गैरकानूनी जापान भ्रमणको विवादमा परेर लिलाबल्लभ अधिकारीले राजीनामा दिएपछि रेवतीरमण भण्डारी मन्त्री नियुक्त भएका थिए।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।