लोड हुँदैछ...

मेनु

शेखर निकट नेताहरु विशेष महाधिवेशनको पक्षमा खुल्दै

शेखर निकट नेताहरु विशेष महाधिवेशनको पक्षमा खुल्दै

धरान । नेपाली काँग्रेसमा नियमित र विशेष महाधिवेशनलाई लिएर देखिएको विवाद जिल्ला हुँदै स्थानीय तहसम्म फैलिएको छ ।

२०८३ वैशाखमा नियमित महाधिवेशन गर्ने संस्थापन पक्षको निर्णय अगाडि नै पुसमा तय गरिएको महाधिवेशन नभएकोक भन्दै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २६ देखि २८ सम्म विषेश महाधिवेशन बोलाएका छन् ।

महामन्त्रीद्वयले विषेश महाधिवेशनको आह्वान गर्दा विगतमा संस्थापन इतर पक्षको नेतृत्व गर्दै आएका नेता डा.शेखर कोइराला भने त्यसको विपक्षमा उभिएका छन् । तर, उनी निकट नेता तथा कार्यकर्ताको पंक्ति भने विषेश महाधिवेशनको पक्षमा खुल्न थालेको छ ।

कोइरालाले सभापति शेरबहादुर देउवासँग मिलेमतो गर्दै विशेष महाधिवेशनको विरोध गरेपछि उनी निकट नेताहरू रुष्ट छन् । काँग्रेसमा नेतृत्व परिवर्तनको आवश्यकता रहेको भन्दै उनीहरु विशेष महाधिवेशनको पक्षमा खुल्न थालेका छन्।

कोइराला निकट मानिएका सुनसरी क्षेत्र नम्बर–१ का महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरूले बैठक बसेर विशेष महाधिवेशनमा सहभागी हुने निर्णय गरेका छन् । उनीहरूले विशेष महाधिवेशनमार्फत काँग्रेसले चुनावी गठबन्धन नगर्ने र समानुपातिक उम्मेदवारको बन्दसूची संशोधन गर्नुपर्ने माग उठाउने निर्णयसमेत गरेका छन् ।

क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा बसेको बैठकले विशेष महाधिवेशनको पक्षमा औपचारिक निर्णय गरेको हो । बैठकमा जेनजी आन्दोलनपछि उत्पन्न विषम राजनीतिक परिस्थितिमा २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा जनमत हासिल गर्न काँग्रेसको नीति र नेतृत्व दुवैमा परिवर्तन आवश्यक रहेको निष्कर्ष निकालिएको थियो।

बैठकमा कोशी प्रदेश महामन्त्री तथा महासमिति सदस्य उमेश थापा, महासमिति सदस्यहरू चन्द्रप्रसाद श्रेष्ठ, विनोदकुमार राई, सुवास राई, श्यामा रेग्मी र जगतबहादुर कार्की तथा महाधिवेशन प्रतिनिधिहरू चन्द्रशेखर लामा, सन्दीप श्रेष्ठ, विकास आचार्य, ललिता शर्मा अधिकारी, दिपेशजंग बस्नेत र पूजा धामीले विशेष महाधिवेशनको पक्षमा धारणा राखेका थिए। जिल्ला सचिव माधव घिसिङ, प्रदेशसभा ‘क’ सभापति अनिल श्रेष्ठ, प्रदेशसभा ‘ख’ सभापति मुरारीप्रसाद भट्टराई र धरान नगर सभापति श्याम पोखरेलले पनि बैठकमा आफ्नो मत व्यक्त गरेका थिए।

जेनजी आन्दोलनपछि उठेका सुशासन, भ्रष्टाचारको अन्त्य र वाक् स्वतन्त्रताका मागहरूलाई पार्टी संस्थापन पक्षले बेवास्ता गरेको आरोप बैठकमा लगाइएको थियो। चार वर्षे कार्यकाल सकिँदासमेत नीति र नेतृत्व परिवर्तनको माग लत्याइएकाले विशेष महाधिवेशनमार्फत पार्टीभित्र रूपान्तरण र पुस्तान्तरणका आवाजलाई सम्बोधन गर्नुपर्ने निष्कर्ष निकालिएको सभापति तामाङले बताए।

विशेष महाधिवेशन काँग्रेसभित्र उठेका सुधार र परिवर्तनका मागलाई संस्थागत गर्ने अवसर भएको नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds