विराटनगर । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी सरकारका मन्त्रीहरु परिवर्तन गर्ने भएका छन् । गत असारदेखि मन्त्री परिवर्तनको चर्चा चल्दै आएकोमा अब त्यो कार्यान्वयन हुने तहमा पुगेको मुख्यमन्त्री निकट स्रोले जनाएको छ ।
स्रोतका अनुसार मंगलबार मुख्यमन्त्री कार्कीले पुराना सबै मन्त्रीहरुलाई विदा गरेर नयाँ मन्त्री नियुक्त गर्दैछन् । त्यसको लागि गठबन्धनमा रहेको दल नेपाली काँग्रेससँग सहमति जुटिसकेको बताइएको छ ।
यसअघि मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद् हेरफेरको प्रयास गरेपनि काँग्रेसभित्रको किचलोको कारण संभव भएको थिएन । एमाले र काँग्रेसभित्र पूर्वसहमति अनुसार मन्त्री परिवर्तनको चर्को दबाब छ ।
मन्त्रीको नाम टुंगो लगाउन शिर्ष नेताहरुसँग छलफलको लागि नेपाली काँग्रेस संसदीय दलका नेता उद्धब थापा काठमाडौं पुगेका छन् । नेतासँगको परामर्शको लागि मुख्यमन्त्री कार्की पनि काठमाडौं जान लागेको बताइएको छ । पार्टी नेतृत्वसँग छलफल गरेपछि मन्त्रीहरुको नाम टुंगो लाग्ने काँग्रेस प्रमुख सचेतक गोपाल तामाङले जानकारी दिए ।
मन्त्री बन्नको लागि नेपाली काँग्रेसबाट भीम पराजुली, मानबहादुर लिम्बू, इसराइल मन्सुरी, प्रदीप सुनुवार मन्त्री बन्ने चर्चा छ भने एमाललेबाट विदुर सुब्बा, निरन राई, इन्द्रमणी पराजुली, तिलचन पाठक, ज्ञानेन्द्र सुबेदी, रामप्रसाद महतोसहितको नाम चर्चामा छ । कोशी प्रदेशमा एमालेबाट मुख्यमन्त्रीसहित ५ जना मन्त्री र एक राज्यमन्त्री तथा काँग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्री छन् ।
एमालेबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा रामबहादुर थापा मगर, खानेपानी तथा सिँचाइ मन्त्री एकराज कार्की, सामाजिक विकास मन्त्री पाँचकर्ण राई र आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी छन् । यस्तै मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा रहने गरी सिर्जना राईलाई राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।
एमालेले यसअघि नै मन्त्रीहरू सबैलाई फिर्ता बोलाउन निर्देशन दिएको थियो । तर, मुख्यमन्त्री कार्कीले आन्तरिक मामिला मन्त्री भण्डारीलार्ई पदमै राख्न चाहेको कारण मन्त्री परिवर्तनमा ढिलाई भएको थियो । अब भने भण्डारीलाई पनि फिर्ता गर्र्न कार्की तयार भएको बताइएको छ ।
सरकारमा नेपाली काँग्रेसबाट भौतिक तथा स्वास्थ्य मन्त्रीमा भुपेन्द्र राई, पर्यटनमा सदानन्द मण्डल र कृषिमा खगेनसिंह हाङ्गाम मन्त्री छन् । यस्तै, भौतिमा भुमी राजवंशी राज्यमन्त्री छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।