लोड हुँदैछ...

मेनु

प्रतिनिधिसभा निर्वाचन– २०८२

एमालेको शीर्ष नेताहरु एकल उम्मेदवार सिफारिस

एमालेको शीर्ष नेताहरु एकल उम्मेदवार सिफारिस

विराटनगर । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले प्रत्यक्षतर्फ उम्मेदवार सिफारिसको प्रक्रिया तीव्र बनाएको छ।

तल्लो तहका कमिटीहरूबाट सिफारिस हुने क्रम जारी रहँदा पार्टीका शीर्ष नेताहरूको नाम विभिन्न निर्वाचन क्षेत्रबाट एकल रूपमा सिफारिस भएको छ ।

झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट पार्टी अध्यक्ष केपी शर्मा ओलीको नाम एकल रूपमा सिफारिस गरिएको छ। ओलीको गृह निर्वाचन क्षेत्र मानिने झापा–५ बाट यसअघि पनि उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदै आएका छन्।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट पार्टी वरिष्ठ नेता ईश्वर पोखरेलको नाम निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले सर्वसम्मत रूपमा सिफारिस गरेको छ। पोखरेल एमालेको गत महाधिवेशनमा ओलीसँग प्रतिस्पर्धा गरेर पराजित भएका थिए ।

लुम्बिनी प्रदेशअन्तर्गत रुपन्देही–२ बाट पार्टी उपाध्यक्ष विष्णु पौडेल, दाङ–२ बाट महासचिव शंकर पोखरेल, कैलाली–४ बाट उपमहासचिव लेखराज भट्ट र भक्तपुर–२ बाट सचिव महेश बस्नेतको नाम एकल सिफारिस भएको छ। उनीहरुमध्ये पौडेल विघटित प्रनिनिधिसभाका सदस्य थिए ।

अन्य निर्वाचन क्षेत्रहरूमा पनि एमालेका स्थापित नेताहरूको नाम एकल रूपमा सिफारिस भइरहेको पार्टीले जनाएके छ । गुल्मी–१ बाट केन्द्रीय सदस्य प्रदीप ज्ञवाली, गुल्मी–२ बाट उपाध्यक्ष गोकर्ण विष्टको नाम एकल सिफारिस भएको छ । यस्तै, रूपन्देही–५ बाट खिमलाल भट्टराई, सिराहा–३ बाट लीलानाथ श्रेष्ठ, दार्चुलाबाट गणेश ठगुन्ना, सल्यानबाट गुलाबजंग शाह, बैतडीबाट दामोदर भण्डारी, सुर्खेत–१ बाट ध्रुव शाही र सुर्खेत–२ बाट कुलमणि देवकोटाको नाम सिफारिस गरिएको छ।

एमालेले दिएको जानकारी अनुसार बाँके–१ बाट सूर्य ढकाल, बाँके–२ बाट दलबहादुर सुनार, कपिलवस्तु–१ बाट विश्राम चौधरी, नवलपुर–२ बाट तिलक महत, कास्की–२ बाट मिलन गुरुङ, नुवाकोट–१ बाट बद्री मैनाली, नुवाकोट–२ बाट केशव पाण्डे, रौतहट–१ बाट अजय गुप्ता, महोत्तरी–१ बाट लक्ष्मी महतो कोइरी र इलाम–२ बाट सुहाङ नेम्वाङको नाम पनि एकल रूपमा सिफारिस भएको छ । अहिलेसम्म देशभरबाट करिब २५ जना नेता सर्वसम्मत रूपमा एकल उम्मेदवारका रूपमा सिफारिस भइसकेको पार्टीले जनाएके छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आगामी माघ ६ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ । त्यसअघि नै उम्मेदवार टुंग्याउने रणनीतिमा जुटेको एमालेले तल्लो तहबाट सिफारिस संकलन गरिरहेको छ ।

उम्मेदवारको अन्तिम टुंगो भने केन्द्रीय समितिले लगाउनेछ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds