विराटनगर । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतम शर्माले कोशी अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको नेतृत्वमा परिवर्तन गरेकी छन् । आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्री शर्माले दुवै निकायको प्रमुख हेरफेर गर्ने निर्णय गरेकी हुन् ।
निर्णयअनुसार विराटनगरस्थित कोशी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) को जिम्मेवारी डा. रामनारायण चौधरीलाई दिइएको छ । डा. चौधरी सोही अस्पतालमा कार्यरत ११ औँ तहका प्रमुख कन्सल्टेन्ट पेडियाट्रिसियन (बालरोग विशेषज्ञ) हुन् । उनी २०७१ सालदेखि कोशी अस्पतालमा निरन्तर कार्यरत छन् । अस्पतालभित्रकै अनुभवी चिकित्सक भएकाले उनले संस्थाको प्रशासनिक र सेवा प्रवाहलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
यसैगरी, टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशकमा डा।. रुणा झालाई ल्याइएको छ । यसअघि उनी कोशी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट थिइन् । कोभिड–१९ को चुनौतीपूर्ण समयमा पनि डा. झाले सोही प्रयोगशालाको सफल नेतृत्व गरेकी थिइन् ।
विगतमा कोशी अस्पतालमा राजनीतिक परिवर्तनसँगै ६–६ महिनामै मेसु परिवर्तन हुने प्रवृत्ति देखिएको थियो । तर, यस पटक डा. झाले एक वर्षभन्दा बढी समय मेसुका रूपमा काम गर्ने अवसर पाइन् । उनको कार्यकालमा कोशी अस्पतालको भौतिक तथा सेवागत पक्षमा केही सकारात्मक सुधारका प्रयासहरू भएका थिए ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।