लोड हुँदैछ...

मेनु

तराईमा चिसो बढेसँगै कोशी अस्पतालमा बिरामीको चाप

तराईमा चिसो बढेसँगै कोशी अस्पतालमा बिरामीको चाप

विराटनगर । तराई क्षेत्रमा बढ्दो चिसो र शीतलहरसँगै अस्पतालहरूमा टाउको दुख्ने समस्या लिएर आउने बिरामीको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ। चिसो हावा, तापक्रममा आएको परिवर्तन र खानपानमा ध्यान नदिँदा यस्तो समस्या देखिएको चिकित्सकहरूले बताएका छन्।

कोशी अस्पताल विराटनगरका वरिष्ठ फिजिसियन डा. रोशन खड्काका अनुसार जाडो मौसमले शरीरको ताप सन्तुलन र रक्तसञ्चार प्रणालीमा प्रत्यक्ष असर पार्ने भएकाले यो समयमा टाउको दुखाइका बिरामी बढेका हुन्।

डा. खड्काका अनुसार जाडोमा शरीरको तापक्रम घट्दा रक्तनलीहरू सङ्कुचित हुन्छन्। ‘रक्तनली सङ्कुचित हुँदा टाउकोतर्फ हुने रक्तप्रवाहमा कमी आउँछ, जसले गर्दा टाउको दुख्ने गर्दछ’, उनले भने।

त्यसैगरी, जाडो मौसममा देखिने टाउको दुखाइको अर्को प्रमुख कारण शरीरमा पानीको कमी (डिहाइड्रेसन) हो। जाडोमा तिर्खा कम लाग्ने भएकाले मानिसहरूले पानी कम पिउने गर्छन्। तर, शरीरलाई आवश्यक पर्ने पानीको मात्रा जाडोमा पनि उत्तिकै हुने भएकाले पर्याप्त पानी नपिउँदा टाउको दुखाइको समस्या बल्झिने चिकित्सकहरूको भनाइ छ।

चिसो हावाले घाँटी र काँध क्षेत्रका मांसपेशीमा प्रत्यक्ष असर पार्ने हुँदा टाउकोको पछाडिबाट सुरु भएर अगाडितर्फ फैलिने दुखाइ बढी देखिने गरेको छ। विशेषगरी मोटरसाइकल चलाउँदा घाँटी नछोप्ने, राति चिसोमा सुत्ने तथा लामो समय एउटै आसनमा बस्ने व्यक्तिहरूमा यो समस्या बढी देखिएको डा. खड्काले जानकारी दिए।

जाडो मौसममा नाक बन्द हुने, अनुहार भारी महसुस हुने, आँखाको वरिपरि च्यापिएको जस्तो दुख्ने तथा टाउकोको अगाडिको भाग दुख्ने (साइनस) समस्या पनि उत्तिकै बढेको छ। साइनस सङ्क्रमण वा एलर्जी भएका व्यक्तिहरूले समयमै उपचार नगरे टाउको दुखाइ लामो समयसम्म रहने र जटिल अवस्था आउन सक्ने चेतावनी चिकित्सकहरूले दिएका छन्।

तराईमा चिसो अझै बढ्ने सम्भावना रहेकाले न्यानो लुगा लगाउन, पर्याप्त पानी पिउन र टाउको तथा घाँटीलाई चिसोबाट जोगाउन चिकित्सकहरूले सुझाव दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।