काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन), कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी र अन्य विभिन्न समूहहरूबीचको एकतालाई औपचारिक रूप दिन आज बृहत्तर एकता घोषणा सभा आयोजना गर्दैछ।
रास्वपाले आइतबार जारी गरेको विज्ञप्तिअनुसार, आज दिउँसो १ बजे प्रदर्शनी मार्गस्थित राष्ट्रियसभा गृहमा एक विशेष समारोहका बीच एकताको औपचारिक घोषणा हुन लागेको हो।
रास्वपा, मेयर बालेन शाह र उज्यालो नेपाल पार्टीबीच गत पुस १३ र १४ गते एकता गर्ने ऐतिहासिक सहमति भएको थियो। सोही सहमतिअनुसार आज नेता–कार्यकर्ताको व्यवस्थापन र सांगठनिक समायोजनलाई पूर्णता दिँदै एकता घोषणा गर्न लागिएको हो।
पार्टीका अनुसार यस सभामार्फत एकता प्रक्रियालाई कानुनी र राजनीतिक रूपमा टुङ्ग्याइनेछ। साथै, नयाँ शक्तिहरूको ध्रुवीकरणपछि पार्टीको आगामी राजनीतिक मार्गचित्र र कार्यदिशा समेत सार्वजनिक गरिने रास्वपाले जनाएको छ।
बालेन शाहको स्वतन्त्र समूह र ऊर्जा क्षेत्रमा सफल मानिएका कुलमान घिसिङको राजनीतिक अभियान रास्वपासँग जोडिनुलाई नेपाली राजनीतिमा एक अर्थपूर्ण घटनाका रूपमा हेरिएको छ। आजको सभामा रास्वपा सभापति रवि लामिछाने, मेयर बालेन शाह र कुलमान घिसिङ लगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
यस एकतासँगै रास्वपाले आगामी निर्वाचन र समसामयिक राजनीतिक मुद्दाहरूमा आफ्नो प्रभाव थप विस्तार गर्ने रणनीति लिएको बुझिएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।