लोड हुँदैछ...

मेनु

झापाका पाँचै निर्वाचन क्षेत्रको लागि एमालेका उम्मेदवार सिफारिस

झापाका पाँचै निर्वाचन क्षेत्रको लागि एमालेका उम्मेदवार सिफारिस

विर्तामोड । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले झापाका पाँचै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस गरेको छ । पार्टीले विभिन्न क्षेत्रीय समन्वय कमिटी बैठकमार्फत उम्मेदवार सिफारिस गरेको हो।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको नाम झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट एकल रूपमा सिफारिस गरिएको छ । शनिबार सम्पन्न एमाले क्षेत्र नम्बर ५ को क्षेत्रीय समन्वय कमिटी बैठकले ओलीलाई प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको हो।

झापा–५ ओलीको गृह निर्वाचन क्षेत्र हो। उनी यसअघि २०७४ र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए। दमक–९ स्थित एमाले दमक नगर कमिटीको कार्यालयमा क्षेत्रीय इन्चार्ज नारायणप्रसाद गौतमको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको जनाइएको छ।

झापा निर्वाचन क्षेत्र नम्बर १ बाट भने ८ जनाको नाम सिफारिस गरिएको छ। सिफारिस सूचीमा राजु कार्की, लक्ष्मी राई, घनश्याम अधिकारी, असारु राजवंशी, कृष्ण कनाल, रामचन्द्र उप्रेती, निरु परियार र चन्द्र प्रसाईँ रहेका छन्। क्षेत्रीय इन्चार्ज कृष्ण कनालको अध्यक्षतामा मेचीनगर–६ स्थित एमाले मेचीनगर नगर कमिटीको कार्यालयमा बसेको बैठकले उनीहरूको नाम सिफारिस गरेको हो।

त्यस्तै झापा निर्वाचन क्षेत्र नम्बर २ बाट १३ जनाको नाम सिफारिस गरिएको छ। जसमा देवराज घिमिरे, अग्नि खरेल, प्रेम गिरी, छबिलाल विश्वकर्मा, अम्बिर लिङ्देन, अमृतलाल राजवंशी, उमानाथ ओली, ज्ञानेन्द्रप्रकाश ओली, पर्वत भण्डारी, रोजिना पाण्डे, जसमाया गजमेर, एकराज कार्की र पवित्रा पाठक रहेका छन्।

झापा निर्वाचन क्षेत्र नम्बर ३ बाट पाँच जनाको नाम प्रत्यक्षतर्फ सिफारिस गरिएको छ। क्षेत्रीय समन्वय कमिटीको बैठकले दीपक कार्की, हरिबहादुर राजवंशी, वसन्त बानियाँ, सन्तलाल मेचे र देवेन्द्र आचार्यको नाम सिफारिस गरेको क्षेत्रीय सचिव नरेश चुँडालले जानकारी दिए।

झापा निर्वाचन क्षेत्र नम्बर ४ बाट भने एलपी साँवा लिम्बू, हिराकुमार थापा र भोजकुमारी नेपालको नाम प्रत्यक्षतर्फ सिफारिस गरिएको एमाले झापाका सचिव तुलसी कार्कीले बताए। एमालेले क्षेत्रीय तहबाट आएका सिफारिसका आधारमा जिल्ला र केन्द्रीय तहमा छलफल गरेर केन्द्रमा नामावली पठाउने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds