विराटनगर ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले सुनसरी–१ बाट ८ जनाको नाम उम्मेदवारको लागि सिफारिस गरेको छ।
निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले मञ्जु भण्डारी, जयकुमार राई, लहरुमाया जिमी, इन्द्रकुमार राई, टिका माङ्लेन, राजेन्द्र कार्की, सूर्य पन्धाक र नारायण सुवेदीलाई उम्मेदवारका रूपमा सिफारिस गरेको हो।
भण्डारी धरान उपमहानगरपालिकाको पछिल्लो स्थानीय तह निर्वाचनमा मेयर पदमा पराजित भएकी थिइन् । त्यसअघि धरानको उपमेयर रहेकी उनी २०७९ मा हर्कराज राई (साम्पाङ)सँग तेस्रो भएकी थिइन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली निकट भण्डारी हालै सम्पन्न एमालेको महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् । उनीहरुमध्ये भण्डारीले नै टिकट पाउने संभावना रहेको एमाले कार्यकर्ताहरुले बताएका छन् ।
क्षेत्रीय कमिटीबाट अपेक्षाभन्दा बढी नाम सिफारिस हुनुको कारण आकांक्षीहरूको दबाब भएको एमालेका एक पदाधिकारीले बताए। उनका अनुसार जिल्ला कमिटीले सामान्यतः तीन जनाको नाम सिफारिस गर्ने अभ्यास रहेपनि नाम काटिएमा जिम्मेवारी नलिनुपर्ने अवस्था सिर्जना भएकाले क्षेत्रीय कमिटीले धेरै नाम अघि सारेको पार्टीले जनाएको छ ।
सिफारिसमा परेका जयकुमार राई २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सुनसरी–१ बाट निर्वाचित भएका नेता हुन् । यस्तै लहरुमाया जिमी २०७९ सालको निर्वाचनमा कोशी प्रदेशको समानुपातिक सांसद सूचीमा रहेकी थिइन्। सूचीमा रहेका इन्द्रकुमार राई एमाले सुनसरी जिल्ला कमिटी सदस्य हुन्। उनी यसअघि धरान–११ नम्बर वडा कमिटी अध्यक्ष रहेका थिए र जिल्ला अधिवेशनमार्फत जिल्ला सदस्यमा निर्वाचित भए ।
टिका माङ्लेन विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन्। तारा सुब्बा धरानको मेयर हुँदा उनी स्वकीय सचिवका रूपमा कार्यरत थिए।
यस्तै, राजेन्द्र कार्की विराटनगर जुट मिलका म्यानेजर हुन् । उनी एमाले प्रदेश कमिटी सदस्यसमेत रहेका छन्। उनी बराहक्षेत्र–४ का स्थायी बासिन्दा हुन् ।
एमालेले क्षेत्रीय कमिटीको सिफारिसपछि जिल्ला र केन्द्रिय तहबाट छलफल गरी अन्तिम उम्मेदवार टुंगो लगाउने जनाएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।