लोड हुँदैछ...

मेनु

विराट नर्सिङ्ग होममा अत्याधुनिक ‘क्याथ ल्याब’ सुरु

विराट नर्सिङ्ग होममा अत्याधुनिक ‘क्याथ ल्याब’ सुरु

विराटनगर । विराटनगरस्थित विराट नर्सिङ्ग होमले आफ्नो स्वास्थ्य सेवालाई थप विस्तार गर्दै अत्याधुनिक ‘क्याथ ल्याब’ सञ्चालनमा ल्याएको छ ।

कार्डियाक, न्यूरो तथा भास्कुलर इन्टरभेन्स्नल सम्बन्धी जटिल रोगहरूको उपचारलाई छिटो, सुरक्षित र सहज बनाउने उद्देश्यका साथ अस्पतालले आइतबारदेखि यो सेवा सुरु गरेको हो ।

नयाँ सेवाको शुभारम्भ गर्दै इनभोलुसन हेल्थकेयर प्रालिका निर्देशक अतुल शर्माले हृदयाघात तथा स्ट्रोकजस्ता आपतकालीन अवस्थामा समयमै उपचार नपाउँदा ज्यान जाने जोखिम उच्च हुने भएकाले सोही जोखिम न्यूनीकरण गर्न अत्याधुनिक प्रविधि ल्याइएको बताए । “यो सेवाले विराटनगर सहित नेपाल–भारत सीमावर्ती क्षेत्रका नागरिकलाई एडभान्स उपचारका लागि सहज हुनेछ,” शर्माले भने ।

विराट नर्सिङ्ग होमले कोशी र मधेश प्रदेशमै पहिलो पटक एउटै छानामुनि कार्डियाक, न्यूरो र इन्टरभेन्स्नल रेडियोलोजी गरी तीनै वटा विशेषज्ञ सेवा उपलब्ध गराएको दाबी गरेको छ । अस्पतालका अनुसार यहाँ जडान गरिएको ‘प्रिमियर एलिट क्याथ ल्याब’ अत्याधुनिक प्रविधिमा आधारित छ, जसले कम विकिरणका साथ छिटो र सुरक्षित रूपमा उपचार प्रक्रिया पूरा गर्दछ ।

नेपाल तथा भारतका प्रतिष्ठित स्वास्थ्य संस्थाहरूमा तालिम प्राप्त वरिष्ठ इन्टरभेन्स्नल विशेषज्ञहरूबाट यहाँ २४सै घण्टा सेवा उपलब्ध हुने अस्पतालका सिइओ डा. निकिता कार्कीले बताए । अस्पतालको आकस्मिक सेवामा एमडीजीपी चिकित्सक, दक्ष क्रिटिकल केयर टिम, सर्टिफाइड नर्स र १५ शैयाको एडभान्स सीसीयू सहितको सुविधा रहेको छ ।
मुटुरोग तथा अन्य आपतकालीन लक्षण देखिएमा ढिलाइ नगरी तुरुन्त स्वास्थ्य जाँच गराउन समेत अस्पतालले आम नागरिकलाई आग्रह गरेको छ ।

१९ जनाले लिए नि : शुल्क सेवा
क्याथ ल्याब उद्घाटनको अवसरमा अस्पतालले विशेष सहुलियतको घोषणा गरेको थियो । प्राथमिकताका आधारमा पहिलो आउने २० जना बिरामीलाई क्याथ ल्याबअन्तर्गतका सम्पूर्ण प्रक्रिया पूर्ण रूपमा नि : शुल्क उपलब्ध गराउने घोषणा गरिएकोमा १९ जनाले सो सुविधा लिएको अस्पताल प्रशासनले जनाएको छ । साथै, सीसीयू शुल्क तथा निदान सेवामा समेत ५० प्रतिशत छुटको व्यवस्था गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।