लोड हुँदैछ...

मेनु

चुनावको तयारी र कर्मचारी अभावका कारण उपसचिवको परीक्षा सार्न निर्वाचन आयोगको पत्राचार

चुनावको तयारी र कर्मचारी अभावका कारण उपसचिवको परीक्षा सार्न निर्वाचन आयोगको पत्राचार

विराटनगर । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई मध्यनजर गर्दै लोक सेवा आयोगले सञ्चालन गर्ने उपसचिव तहको लिखित परीक्षाको मिति परिमार्जन गर्न औपचारिक आग्रह गरेको छ ।

२०८२ पुस १७ गते बसेको आयोगको बैठकले आगामी माघ १० गतेदेखि २८ गतेसम्मका लागि तय गरिएको उपसचिव (प्राविधिक तथा अप्राविधिक) वा सो सरहको लिखित परीक्षा हाललाई स्थगित गर्न लोक सेवा आयोगलाई अनुरोध गर्ने निर्णय गरेको हो ।

आगामी निर्वाचनका लागि माघको पहिलो सातादेखि नै आचारसंहिता लागू हुने र ७७ वटै जिल्लाका अधिकृतस्तरका कर्मचारीहरू चुनावको तयारीमा खटिनुपर्ने भएकाले परीक्षा सार्नुपर्ने आयोगको मुख्य तर्क छ । विशेषगरी माघ ५ गतेदेखि प्रत्यक्षतर्फका उम्मेदवारको मनोनयन दर्ता र निर्वाचन सामग्री खरिद व्यवस्थापनको काम सुरु हुने भएकाले ७३ वटा जिल्ला निर्वाचन कार्यालयका प्रमुख तथा अन्य कर्मचारीहरूलाई बिदा दिन नसकिने अवस्था रहेको आयोगले स्पष्ट पारेको छ ।

साथै, १६५ वटा निर्वाचन अधिकृतको कार्यालयमा कर्मचारीहरू अनिवार्य रूपमा खटिनुपर्ने र कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखहरू पनि निर्वाचनको खाता सञ्चालन र आर्थिक व्यवस्थापनमा व्यस्त रहने हुँदा उनीहरूलाई परीक्षामा सामेल हुन प्राविधिक कठिनाइ हुने देखिएको छ ।

आयोगमा कार्यरत तथा काजमा खटिएका कर्मचारीहरू हाल दैनिक १२ घण्टाभन्दा बढी कार्यबोझमा रहेको र निर्वाचन जस्तो महत्वपूर्ण राष्ट्रिय अभियानमा कर्मचारीको अभाव हुन नदिन यो निर्णय लिइएको आयोगले जनाएको छ । निर्वाचनमा खटिएका कर्मचारीहरू परीक्षाबाट वञ्चित हुँदा उनीहरूको वृत्ति विकासमा बाधा पुग्ने र प्रतिस्पर्धाको समान अवसरसमेत गुम्ने भएकाले मतदान सकिएको कम्तीमा एक महिनापछि मात्र परीक्षा सञ्चालन गर्न आयोगले सुझाव दिएको छ ।

फागुन २१ गतेको निर्वाचन पश्चात मतगणना, निर्वाचन खर्चको लेखा परीक्षण र समानुपातिकतर्फको अन्तिम नतिजा प्रकाशन गरी राष्ट्रपतिलाई प्रतिवेदन बुझाएपछि मात्र परीक्षा सञ्चालनको व्यवस्था मिलाउन कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम प्रसाद भण्डारी, आयुक्तहरू सगुन शम्शेर ज.ब.रा. र डा. जानकी कुमारी तुलाधरको बैठकले लोक सेवा आयोगलाई अनुरोध गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।