काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन वैशाख २८ देखि ३१ गतेसम्म गर्ने कार्यसम्पादन समितिको निर्णयमा ५ नेताले फरक मत राखेका छन् ।
पुस २६–२८ गतेसम्मको महाधिवेशन तालिका परिवर्तन गरी वैशाख २८–३१ मा गर्ने पारित गर्दा ३ पदाधिकारीसहित ५ नेताले फरक मत राखेका हुन् ।
निर्णयमा महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा, सहमहामन्त्री फरमुल्लाह मन्सुरले फरक मत राखेका छन् । त्यस्तै कार्यसम्पादन समिति सदस्य अर्जुननरसिंह केसी र उमा रेग्मीले पनि फरक मत राखेका छन् ।
बैठकपछि महामन्त्री थापाले आफूहरूले फरक मत राखेको पनि जानकारी दिए । ‘बैठकमा कार्यवाहक सभापतिले कार्यविधि थप्दै महाधिवेशन वैशाखमा गर्ने प्रस्ताव गर्नु भयो । धारा ४३ को प्रयोग गरेर प्रस्ताव राख्नुभयो। हामीले फरक मत राख्यौँ तर प्रस्ताव बहुमतले पारित भयो,’ महामन्त्री थापाले भने ।
उनीहरूले बैठकमा नियमित तालिका ल्याएपनि विशेष महाधिवेशनको मागबाट भाग्न नमिल्ने भन्दै फरक मत राखेका हुन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।