लोड हुँदैछ...

मेनु

उपमहासचिवम भट्टराईलाई एमाले कार्यकर्ताको उपेक्षा, नेकपाका कार्यकतर्काले गरे स्वागत

उपमहासचिवम भट्टराईलाई एमाले कार्यकर्ताको उपेक्षा, नेकपाका कार्यकतर्काले गरे स्वागत

विराटनगर । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईलाई एमालेकै कार्यकर्ताले उपेक्षा गरेको पाइएको छ । शुक्रबार विराटनगर विमानस्थलमा उपमहासचिव भट्टराई आउँदा उनलाई नेपाली कम्युनिष्ट पार्टीका कार्यकर्ताले स्वागत गरेका थिए ।

यसअघि पार्टीका पदाधिकारी तहका नेताहरु आउँदा स्वागत गर्न एमालेका कार्यकर्ताको भिड लाग्ने गरेको थियो । पार्टीको हालै सम्पन्न महाधिवेशनबाट सचिवमा निर्वाचित भएका शेरधन राई मात्र हैन, केन्द्रीय सदस्य बनेका परशुराम बस्नेतको स्वागतमा पनि मोरङका सयौं कार्यकर्ता विमानस्थल पुगेका थिए । तर, उपमहासचिव भट्टराई शुक्रबार विराटनगरमा आउँदा कोहि एमाले कार्यकर्ता पुगेनन् ।

ताप्लेजुङ जाने क्रममा शुक्रबार विराटनगर ओर्लिएका उपमहासचिव भट्टराई ईश्वर पोखरेलको समूहबाट निर्वाचित भएका हुन् । त्यहि भएर पनि संस्थापन पक्षले उनललाई उपेक्षा गरेको आशंका गरिएको छ ।

एमालेका कार्यकर्ता विमानस्थलमा नदेखिएपछि नेकपाका नेता तथा कार्यकर्ताले भट्टराईलाई खादा लगाएर स्वागत गरेका थिए । भट्टराई र नेकपाका नेता भीम रावल एउटै विमानबाट विराटनगर ओर्लिएका थिए । आफ्ना नेता रावललाई लिन आएका नेकपाका वसिम आलमसहितले एमाले नेता भट्टराई पनि सँगै देखेपछि शिष्टाचार स्वरूप खादा लगाइदिएका थिए ।

नेकपा एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले भने आफूलाई उपमहासचिव आउने सूचना नभएकोले विमानस्थलमा पुग्न नपाएको बताएका छन् । ‘म विराटनगर बाहिर थिएँ, उहाँ आउँदै हुनुहुन्छ भन्ने कुनै आधिकारिक सूचना प्राप्त भएन, त्यसैले समन्वय हुन सकेन ।’

विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपमहासचिव भट्टराईले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई निष्पक्ष र पारदर्शी बनाउन बहालवाला मन्त्रीहरूले तत्काल राजीनामा दिनुपर्ने माग गरे । ‘माघ ६ गते प्रत्यक्षतर्फको मनोनयन दर्ता गर्ने कार्यतालिका छ, निर्वाचनलाई प्रभाव पार्न नदिन त्यसअघि नै मन्त्रीहरूले राजीनामा दिनु अनिवार्य छ,’उनले भने ।

तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीको अडान स्मरण गर्दै सत्ता र शक्तिको दुरुपयोग हुनसक्ने आशंका भट्टराईले व्यक्त गरे । साथै फागुन २१ मा तराईमा होली र हिमाली क्षेत्रमा हिमपात हुनसक्ने भएकाले निर्वाचनलाई विभिन्न चरणमा लैजानसमेत सरकारलाई सुझाव दिए ।

पार्टीको आन्तरिक राजनीतिका बारेमा बोल्दै उपमहासचिव भट्टराईले नेकपा एमाले अब महाधिवेशनको म्यान्डेट अनुसार अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा एकताबद्ध भएर अगाडि बढ्ने दाबी गरे । महाधिवेशनको प्रतिस्पर्धालाई स्वाभाविक लोकतान्त्रिक प्रक्रिया मान्दै उनले पराजित पक्षलाई कारबाही गरिने भन्ने कुरामा कुनै सत्यता नरहेको प्रष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds