लोड हुँदैछ...

मेनु

निर्वाचन हैन, संसद पुनर्स्थापना हुनुपर्छ : मुख्यमन्त्री कार्की

निर्वाचन हैन, संसद पुनर्स्थापना हुनुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वर्तमान समस्याको समाधानका लागि संसद पुनर्स्थापना हुनुपर्ने बताएका छन् ।

विराटनगरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले निर्वाचनले समस्या समाधान गर्ने ज्ञारेन्टी नरहेको भन्दै संसद पुनर्स्थापना हुनुपर्ने जिकिर गरेका हुन् ।

सरकारले फागुन २१ गते तोकेको निर्वाचनको लागि समानुपातिकको बन्दसुची दलहरुले पेश गरिसकेको अवस्थामा नेकपा एमालेका सचिवसमेत रहेका मुख्यमन्त्री कार्कीले संसद पुनस्र्थाना हुनुपर्ने जिकिर गरेका हुन् । शान्तिपूर्ण रूपमा हुने अवस्था अझै पूर्ण रूपमा सुनिश्चित भइनसकेको दाबी गर्दै उनले निर्वाचनले मात्र देशका सबै समस्याको समाधान नहुने बताए ।

अर्को प्रसंगमा मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकार चाँडै नै पुनर्गठन हुने बताएका छन् । गठबन्धन दलका नेताहरूसँग छलफल गरेर प्रदेश सरकार शीघ्र पुनर्गठन गर्ने उनको भनाइ छ । गएको असारदेखि नै मुख्यमन्त्री उनले सरकार पुनःर्गठन हुने बताउँदै आएपनि अझै भएको छैन । प्रेस चौतारी नेपाल मोरङद्वारा बिहीबार विराटनगरमा आयोजित प्रदेशस्तरीय शालिग्राम–मञ्जु दाहाल पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले सरकार पुनर्गठनबारे आवश्यक निर्णय छिट्टै हुने उल्लेख गरे ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि पनि नेकपा एमाले ठिंग उभिन सफल भएको दाबी गर्दै कार्कीले केही दल अझै उठ्ने प्रयासमै रहेको दावी गरे । नयाँ भनिएका दलहरु हावामा दौडिरहेको उनको टिप्पणी छ ।

कार्यक्रममा यस वर्षको शालिग्राम–मञ्जु दाहाल पत्रकारिता पुरस्कारबाट उदयपुरको कटारीकी पत्रकार रेणु पराजुलीलाई नगद २१ हजार रुपैयाँसहित सम्मान गरिएको छ। कार्यक्रममा प्रेस चौतारी मोरङ अध्यक्ष चीना थापा, इन्चार्ज सुमन सुस्केरा, उपाध्यक्ष जुनु भट्टराईलगायतले समाजका पछाडि परेका वर्गको उत्थानका लागि सञ्चारकर्मीले जिम्मेवार ढंगले कलम चलाउनुपर्नेमा जोड दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds