विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको कार्यालयको लेखा शाखामा उपाध्यक्षले नै ताला लगाएको भन्दै स्थानीय विरोधमा उत्रिएपछि बिहीबार तनाब उत्पन्न भएको छ ।
उपाध्यक्ष गुणवतीदेवि थारुले लेखा शाखामा ताला लगाएपछि गाउँपालिकाको विकास निर्माणको भुक्तानी र अन्य काम प्रभावित भएको भन्दै स्थानीय विरोधमा उत्रिएका थिए ।
लेखा शाखमा उपाध्यक्ष थारुसहित नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले ताला लगाएका हुन् । उनीहरुले अध्यक्ष नमोनारायण माझीले आफूखुसी काम गरेको भन्दै लेखा शाखामा ताला लगाएका थिए ।
जनप्रतिनिधिले जनताको काम गर्नुपर्नेमा आसपी विवादमा समय खेर फालेको र आफैं ताला लगाएको भन्दै भन्दै स्थानीयले ताला फुटाइदिएका छन् । स्थानीयको समूह पालिकामा पुग्दा लेखा शाखाको ढोका अगाडि उपाध्यक्ष थारुसहित नेकपा एमालेका जनप्रतिनिधि बसेका थिए । लेखा शाखाको ताला खोल्न माग गर्दै प्ले कार्डसहित पालिकामा पुगेका स्थानीयले ताला फुटाएका हुन् ।
पालिकाको काम सुचारु गर्न माग गर्दै उनीहरुले ताला फोडेका हुन् । त्यस क्रममा आफूहरुमाथि एमालेका कार्यकर्ताले हातपातको प्रयास गरेको स्थानीयले बताएका छन् । झडप हुने अवस्था देखिएपछि प्रहरीले अवस्था नियन्त्राणमा लिएको थियो ।
अध्यक्षले गाउँसभा एकलौटी रुपमा सम्पन्न गरेको र मनोमानी गरेको उपाध्यक्ष थारुको आरोप छ । अध्यक्ष माझीले भने सभामा अनुपस्थित भएकाहरुले प्रक्रियागत रुपमा सम्पन्न भएको गाउँसभाको विरोध गर्नु अर्थहिन भएको दावी गरेका छन् । उपाध्यक्ष थारुसहित एमालेका जनप्रतिनिधिले बहिष्कार गरेपछि अध्यक्ष माझीले कानुन अनुसार दोस्रो पटक सभा बोलाएर बजेट पारित गरेका थिए ।
गतवर्ष मंसिरमा भएको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रबाट माझीले अध्यक्ष जितेका थिए । उनी निर्वाचित भएपछि एमालेबाट निर्वाचित जनप्रतिनिधिले विवाद गर्दै आएका छन् । आफू अध्यक्षमा आउनु अगाडि एमालेले कार्यबहाक अध्यक्षको रुपमा मनोमानी गर्दै आएकोमा त्यो रोकिएपछि अहिले असन्तुष्ट बनेको आरोप अध्यक्ष माझीका समर्थकले लगाएका छन् ।
ग्रामथानमा एमालेको बहुमत छ । पालिकामा काम गर्न खोज्दा उपाध्यक्षले बहुमत देखाउँदै आफूलाई काम गर्न नदिएको अध्यक्ष माझीले बताउँदै आएका छन् । काम गर्न नदिने नियतले उपाध्यक्ष र एमाले निकटका जनप्रतिनिधिले पटक–पटक अवरोध सिर्जना गरेको उनको गुनासो छ ।
जनप्रतिनिधिहरूको व्यक्तिगत र राजनीतिक टकरावले गर्दा ग्रामथानको प्रशासनिक र विकास निर्माणका काम प्रभावित भएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।