विराटनगर । असी पुगेर बसी खाने उमेरमा धेरैजना वृद्धहरू घरमै आराम गरेर बुढ्यौली बिताउँछन् । अझै कतिपय त साध्य–असाध्य रोगबाट पीडित भएर कष्टसमेत झेलिरहेका हुन्छन् । त्यसैले असी नाघेकाहरूको दैनिकी कष्टकर नै हुने गर्दछ । तर, कोशी प्रदेश सभाका ज्येष्ठ सांसद गयानन्द मण्डल गनगाई भने असी पुगेपछि घरमै बसिरहनुपर्छ भन्ने भोगाइ र सोचलाई चुनौती दिइरहेका छन् । ८२ वर्षको बुढ्यौलीमा पनि यी ज्येष्ठ माननीयको सक्रियता युवा सांसदहरूको भन्दा लोभलाग्दो छ ।
कोशी प्रदेशको राजधानी विराटनगरबाट २० किलोमिटर पूर्व मोरङको धनपालथान गाउँपालिका–७ को ग्रामीण बस्तीमा बस्छन् ज्येष्ठ सांसद गयानन्द । मोरङ क्षेत्र नं। ५ ९१० बाट नेपाली कांग्रेसका तर्फबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएदेखि उनी कहिल्यै बुढ्यौलीका कारण थाकेका छैनन् । बरु जति समय बित्दै गयो, उति नै जोसका साथ सक्रिय हुँदैछन् । कोशी प्रदेश सभाको सामाजिक विकास समितिका सभापतिसमेत रहेका सांसद मण्डल ुजेन(जीु आन्दोलनपछि त झन् बढी सक्रिय देखिन्छन् । उनी संसदीय गतिविधिमा मात्र होइन, सामाजिक सहभागितामा पनि उत्तिकै सक्रिय भइरहेका छन् । पुसको कठ्याङ्ग्रिँदो जाडोमा पनि बिहान ८ बजेदेखि नै विराटनगरमा हुने विभिन्न कार्यक्रममा कम्बल ओढेरै भए पनि २० किलोमिटर टाढाबाट उनी सहभागी हुन आइपुग्छन् । ज्येष्ठ माननीयको यो लोभलाग्दो सक्रियता देखेर प्रदेश सभाका युवा सांसदहरूसमेत छक्क पर्छन् ।
कोशीका युवा सांसद जयप्रकाश चौधरी भन्छन्, ‘ज्येष्ठ माननीय गयानन्दज्यूको बुढ्यौलीमा पनि हाम्रोभन्दा जोसिलो सक्रियता देख्दा हामीलाई पनि लोभ लाग्छ ।’सामाजिक विकास समितिको सभापति भएपछि सांसद मण्डलले चालकसहितको गाडी सुविधा पाएका थिए । तर,(जेन–जी) आन्दोलनका क्रममा प्रदेश सभा भवन परिसरमा राखिएको उनको गाडी जलेर ध्वस्त भयो । आन्दोलनपछिको असहज परिस्थितिमा धेरै सांसदहरूले अवस्था प्रतिकूल भएको र सवारी साधन नभएको भन्दै विराटनगर आउजाउ गर्न तथा सार्वजनिक कार्यक्रमहरूमा सहभागिता जनाउन आनाकानी गरिरहे । तर ज्येष्ठ सांसद मण्डल भने गाडी नभए पनि कहिले सार्वजनिक यातायात त कहिले छोराको मोटरसाइकलमा बसेर विराटनगर आउजाउ गरिरहे । जलेर ध्वस्त भएको संसदको अवस्था बुझ्ने, कर्मचारीहरूसँग भेटघाट गर्ने र नागरिक छलफलहरूमा सहभागी हुने कामलाई उनले निरन्तरता दिइरहे । यति मात्र होइन, उनले आफूले नेतृत्व गरेको सामाजिक विकास समितिलाई पनि उत्तिकै सक्रिय बनाएका छन् ।
(जेन–जी)आन्दोलनपछि बनेको सरकारले प्रदेश सांसदहरूको स्वकीय सचिवको सुविधा पनि कटौती गरिदियो । यसले गर्दा उनलाई सहयोग गर्ने सहयोगीको पनि अभाव भयो । त्यसैले अचेल उनी छोराको मोटरसाइकलमा पछाडि बसेर कठ्याङ्ग्रिँदो जाडोमा कम्बल ओढेरै बिहानै विराटनगरका कार्यक्रमहरूमा सहभागी हुन आइपुग्छन् । सांसद गयानन्द भन्छन्, ‘अहिले गाडी पनि छैन, स्वकीय सचिव पनि खोसिहाल्यो । छोराले भ्याउँदा उसको मोटरसाइकलमा, नभ्याउँदा टेम्पो चढेर आउजाउ गर्छु ।’
पुस महिनाभरि कांग्रेसको महाधिवेशनको चटारो भएकाले राजधानीमा हुने नागरिक गतिविधिमा आफूलाई नबोलाउन उनले आयोजकहरूलाई आग्रह गर्ने गरेका छन् । सबैलाई सहज पहुँच दिने र मनमा लागेको कुरा प्रस्टसँग बोल्ने ज्येष्ठ सांसद गयानन्दले प्रदेश सभामा निर्वाचित भएपछि ज्येष्ठताका आधारमा केही दिन सभामुखको भूमिका पनि कुशलतापूर्वक निर्वाह गरेका थिए ।
सांसद मण्डल सबेरै सुत्छन् र बिहान ३ बजे नै उठिसक्छन् । उठेपछि एक घण्टा ध्यान गर्छन् । त्यसपछि नित्यकर्म र पूजापाठ सकेर उनी सेवाको कर्ममा खटिन्छन् । शाकाहारी भोजन उनको रुचि हो । २०२३ सालमा प्रधानपञ्च निर्वाचित भएका ज्येष्ठ सांसद मण्डल २०२६ सालमा जिल्ला पञ्चायत सदस्य बनेका थिए । २०३५ सालदेखि कांग्रेसको सक्रिय राजनीतिमा खटिरहेका उनी २०४८ देखि निरन्तर सात पटक पार्टीको महासमिति सदस्य भएका छन् । २०६४ सालमा मधेसी जनअधिकार फोरमका रामानन्द मण्डलसँग १,२०० मतले पराजित भएका गयानन्द २०७० को निर्वाचनमा भने मात्र ८ मतले पराजित भएका थिए । निरन्तरको सक्रियतापछि उनी २०७९ मा प्रदेश सभा सदस्यमा निर्वाचित भए । लामो समय राजनीतिमा खर्चिएका ज्येष्ठ सांसद गयानन्द अब भने विश्राम लिन चाहन्छन् । पुरानो राजनीतिको अनुभव सँगालेका उनी भन्छन्, ‘पछाडि पारिएकाहरूले न्याय पाए मात्र सङ्घीयता बलियो हुन्छ ।’




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।