काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले वैदेशिक शक्तिहरूले नेपाललाई भूराजनीतिक द्वन्द्वको केन्द्र बनाउँदै युक्रेनको दिशामा धकेल्न खोजेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
अङ्ग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै नेता खनालले मुलुक हाल बहुआयामिक संकटमा फसेको उल्लेख गरे । उनले यो संकटबाट पार पाउनका लागि सम्पूर्ण वामपन्थी, देशभक्त र लोकतान्त्रिक शक्तिहरूबिचको बृहत्तर एकता अनिवार्य रहेकोमा जोड दिए ।
आफ्नो सन्देशमा खनालले विश्वको शक्ति सन्तुलनमा व्यापक परिवर्तन भइरहेको विश्लेषण गरेका छन् । । ‘पश्चिमा शक्तिहरूको वर्चस्व रहेको पुरानो विश्व व्यवस्था क्रमशः विघटनको दिशामा छ र न्याय एवं समानतामा आधारित नयाँ विश्व व्यवस्थाले आकार लिइरहेको छ,’उनले भनेका छन् ‘ यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि परिरहेको छ, जसप्रति हामी सजग रहनुपर्छ ।’
देशको वर्तमान आन्तरिक अवस्थाप्रति टिप्पणी गर्दै नेता खनालले कुशासन, भ्रष्टाचार र बेरोजगारीले सामाजिक–आर्थिक संकटलाई भयावह बनाएको बताए । विशेषगरी गत भदौ २४ गते जेन्जी आन्दोलनका नाममा भएको तोडफोड, आगजनी र लुटपाटलाई उनले देशी–विदेशी प्रतिक्रियावादीहरूको सुनियोजित महाविध्वंस को संज्ञा दिएका छन् । सो घटनाले मुलुकलाई थप महासंकटमा धकेलेको उनको ठहर छ ।
वर्तमान सरकारले घोषणा गरेको आगामी निर्वाचनको स्वागत गर्दै खनालले निष्पक्ष र धाँधलीरहित वातावरणका बारेमा भने आशंका व्यक्त गरे । उनले भने ‘निर्वाचनको विकल्प छैन, तर केवल निर्वाचन मात्र समस्याको समाधान होइन । संविधानको परिमार्जन, सुशासनको प्रत्याभूति र युवाहरूका लागि स्वदेशमै रोजगारी सिर्जना गर्ने ठोस योजना सरकारसँग हुनुपर्छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।