लोड हुँदैछ...

मेनु

केपी ओलीको आलोचना गर्ने अखिल सुनसरीका अध्यक्ष बर्खास्त

केपी ओलीको आलोचना गर्ने अखिल सुनसरीका अध्यक्ष बर्खास्त

इटहरी । जेनजी आन्दोलनको समयमा प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेका एमाले निकट अनेरास्ववियुका अध्यक्ष उज्ज्वल सिग्देल बर्खास्तीमा परेका छन् ।

जेनजी आन्दोलनका क्रममा सिग्देलले नेकपा एमाले अध्यक्ष ओलीको आलोचना गरेकोले उनलाई जिम्मेवारीबाट हटाइएको हो ।

सिग्देल अनेरास्ववियुको २३औँ जिल्ला अधिवेशनबाट अध्यक्ष चयन भएका थिए । जेनजी आन्दोलनका क्रममा सरकारले गोली चलाउँदा विद्यार्थीको मृत्यु भएपछि उनले तत्कालीन प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका थिए ।

ओलीले हत्याको जिम्मेवारी लिनुपर्ने र विद्यार्थीको लासमाथि चढेर प्रधानमन्त्री भएर बस्नु लाजमर्दो भएको टिप्पणी सिग्देलले गरेका थिए । जेनजी आन्दोलनलाई समर्थन गरेका उनले ओली प्रवृत्तिको विरोध गरिरहेका छन् ।

सोही आरोपमा सिंग्देललाई अध्यक्षबाट हटाइएको हो । सुनसरीको धरानमा विषेश भेला गरेर शेखर रेग्मीको अध्यक्षतामा नयाँ कमिटी गठन गरिएको छ । रेग्मीले अनेरास्ववियु अधिवेशनमा अध्यक्षको दावी गरेपनि पार्टी र बहुमत प्रतिनिधिले सिग्देललाई चुनेका थिए ।

अहिले सिग्देललाई हटाएर रेग्मीको नेतृत्वमा ५१ सदस्यीय समिति गठन भएको छ । जसको उपाध्यक्षमा आदित्य खड्का, सचिवमा अरुण चौधरी, सहसचिवमा इबेश डाँगी, मन्दिरा तुम्सा, हरि भट्टराई, सुदिप थापा र प्रताप तामाङ छन् । कोषाध्यक्ष सज्नु खड्का र कार्यालय सचिवमा सन्तोष तामाङ र अर्जुन निरौला चयन भएको अनेरास्ववियुले जनाएको छ । ।

बर्खास्तीमा परेपछि सिग्देलले अनेरास्ववियु ओलीलाई भगवान् मान्ने गुटको सङ्गठन बनेको आरोप लगाएका छन् । विद्यार्थी हत्याको विरोध गर्न नसक्ने अवस्थामा सङ्गठनलाई पुर्‍याउनु गलत भएको भन्दै उनले व्यक्तिवादी चरित्रको विरोधमा सदैव लाग्ने उल्लेख गरे ।

जेनजी आन्दोलनमा युवा विद्यार्थी मारिएपछि अनेरास्ववियुका अध्यक्ष सुजन कडरियाले पनि राजीनामाको घोषणा गरेका थिए । आन्दोलन सकिएपछि उनी पदमा फर्कन प्रयास गरेपनि असफल भए । उनलाई हटाएर दीपक धामीलाई अध्यक्ष बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds