विराटनगर । मोरङको लेटाङ–२ का २७ वर्षीय योगराज दाहाल कुनै सार्वजनिक निकायको काम चित्त बुझेन भने जवाफ माग्दै निवेदन दिइहाल्छन् । त्यही कारण उनको नाम सुन्नासाथ धेरै सरकारी कर्मचारी र शक्तिशाली व्यक्तिहरू तर्सिन्छन् ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत महेन्द्र मोरङ क्याम्पस, विराटनगरमा स्नातक अध्ययनरत उनको हातमा सूचनाको हकको निवेदन बोकेर राज्यका निकायहरूलाई जवाफदेही बनाउन सडक र अदालत धाइरहेका भेटिन्छन् । आफ्नो यात्रा रहर मात्र नभएर सार्वजनिक सेवाका कार्यालयहरुको जवाफदेहिता खोजी भएको उनको दाबी छ ।
उनले सूचना मागेकै कारण त्रिभुवन विश्वविद्यालयको सह–परीक्षा नियन्त्रक छनोट प्रक्रियामा भएको गम्भीर अनियमितता बाहिर आयो । त्रिविका प्राध्यापक डिल्लिराम प्रसाईंले विद्यावारिधि (पीएचडी) को नतिजा फेरबदल गरी गैरकानुनी रूपमा ओहोदा प्राप्त गरेको रहस्य योगराजले नै उत्खनन गरेका थिए । उनले सुरुमा सामाजिक सञ्जालमा यसबारे आवाज उठाए र त्यसपछि सूचनाको हक प्रयोग गरेर प्रमाणहरू जुटाउन थाले । उनले मागेको सूचना र गरेको खबरदारीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गर्यो ।
परिणामस्वरुप २०८१ मंसिर १० गते अख्तियारले विशेष अदालतमा प्रसाईंसहित चार जनाविरुद्ध मुद्दा दायर गर्यो । विशेष अदालतले यो मुद्दामा संलग्न प्राध्यापक डाक्टरहरूलाई फरक–फरक मितिमा धरौटीमा रिहा गर्ने आदेश दिएको छ । जसमा डिल्लिराम प्रसाईंलाई ५० हजार र अन्य तीन जनालाई १०–१० हजार रुपैयाँ धरौटी मागिएको छ । एउटा सामान्य विद्यार्थीले विश्वविद्यालयको यति ठूलो र संगठित अपारदर्शीतालाई कानुनी कठघरासम्म पु¥याउनु आफैँमा साहसको विषय हो ।
योगराजको यो अभियान केवल विश्वविद्यालयको केन्द्रमा मात्र सीमित छैन । उनले आफ्नै घरपायक लेटाङ नगरपालिकामा पनि सुशासनको बिगुल फुकेको उदाहरण छ । लेटाङ नगरपालिकाको अस्पतालमा फार्मेसी सञ्चालन गर्दा भएको सार्वजनिक सूचना बिनाको कोटेसन प्रक्रियालाई उनले चुनौती दिए । सूचनाको हक प्रयोग गरी उनले मागेको जवाफ र त्यसपछि उत्पन्न दबाबका कारण अस्पतालको व्यवस्थापन समिति नै परिवर्तन भयो र मेयरले हस्तक्षेप गरेर प्रणाली सुधार गर्न बाध्य हुनुप¥यो ।
त्यस्तै, उनले मोरङ जिल्लाका विभिन्न सरकारी कार्यालयहरूमा हुने कर्मचारीको दरबन्दी लुकाउने र बढुवा प्रक्रियामा हुने पक्षपात विरुद्ध पनि दर्जनौँ सूचनाका निवेदनहरू दिएका छन् । उनकै कारण कतिपय योग्य कर्मचारीहरूले समयमै आफ्नो वृत्ति विकासको अवसर पाएका छन् भने कतिपय लुकाइएका फाइलहरू सार्वजनिक भएका छन् । हालसम्म उनले २ सयभन्दा बढी सूचनाका निवेदनहरू दर्ता गरिसकेका बताए ।
उनले सूचनाको हकलाई केवल कागजमा मात्र सीमित नराखेर यसलाई भ्रष्टाचार विरोधी बलियो हतियार बनाएका छन् । उनीसँग अहिले डिजिटल र भौतिक रूपमा सूचनाका धेरै दस्ताबेजहरू सुरक्षित छन्, जसलाई उनी समय आएपछि सार्वजनिक गर्ने बताउँछन् ।
सूचना मागेकै कारण योगराजलाई कतिपय ठाउँबाट प्रत्यक्ष र अप्रत्यक्ष धम्कीहरू आउँछन् । कतिपय शक्तिशाली व्यक्तिहरूले उनलाई ‘मुद्दा फिर्ता लिए वा सूचना माग्न छोडे मोटो रकम दिने’ प्रलोभन पनि देखाउने गरेको उनी सुनाउँछन् । उनले आफूले आजसम्म कसैसँग पनि बार्गेनिङ नगरेको र भ्रष्टाचार विरुद्धको यो अभियानलाई आफ्नो जीवनको अन्तिम समयसम्म जारी राख्ने दृढता व्यक्त गर्छन् । ‘एक जनालाई सूचना माग्दा दुःख होला, तर त्यसको सुधारले सयौँ मानिसलाई फाइदा पुग्छ भने म त्यो दुःख झेल्न तयार छु,’ दाहाल भन्छन् ।
आगामी दिनमा योगराजको लक्ष्य समाजसेवा मार्फत देशको नीति निर्माण तहमा पुग्ने रहेको छ । उनी विश्वास गर्छन् कि सूचनाको हकले नागरिकलाई मालिक बनाउँछ र कर्मचारीतन्त्रलाई सेवक । आजको जेन्जी पुस्ताले केवल इन्टरनेट र मनोरञ्जनमा मात्र समय नबिताएर देशको कानुन र अधिकारको बारेमा जानकार हुनुपर्ने उनको तर्क छ ।
विराटनगरका मेयर र उपमेयरलाई सार्वजनिक मञ्चमै प्रश्न सोध्न सक्ने उनको निडर स्वभावले धेरै युवाहरूलाई प्रेरित गरेको छ । दाहाल त्यस्तो पात्र हुन्, जसले देखाएका छन् कि यदि एक व्यक्तिसँग सत्यको प्रमाण र बोल्ने आँट छ भने उसले एक्लै पनि सिंगो प्रणालीसँग लड्न सक्छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।