लोड हुँदैछ...

मेनु

हामी भागेको भन्न त मिलेन झण्डै–झण्डै भागेका थियौं : हिक्मत कार्की

हामी भागेको भन्न त मिलेन झण्डै–झण्डै भागेका थियौं : हिक्मत कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमालेका सचिव हिक्मत कुमार कार्कीले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा राज्य संयन्त्र पूर्ण रूपमा असफल भएको र आफूहरू झण्डै भाग्नुपर्ने अवस्थामा पुगेको बताएका छन् ।

कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले उक्त समयमा राज्य केवल ‘रमिते’ बनेको बताए । करिब २ लाख ५० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुँदाहुँदै पनि स्थिति नियन्त्रण बाहिर गएको उनले बताए ।

नेता कार्कीले सुरक्षा निकायको कमजोरी र राज्यको लाचारी प्रकट गर्दै भने, ‘हामी रमिते बनेर हेर्यौं, हामी हेरिरह्यौं । विभिन्न कुराहरू मिडियाहरूमा पनि आइराख्या छन्, हामी सबै हेरेर बस्यौं । र भाग्यो भनेर भन्न त मिलेन, तर झण्डै–झण्डै भाग्या थियौं हामी सबै ।’

उनले थप प्रष्ट पार्दै भने, ‘९० हजार नेपाल प्रहरी, करिब १ लाखको हाराहारीमा नेपाली सेना र ३५ हजारको हाराहारीमा सशस्त्र प्रहरी बल हुँदाहुँदै पनि स्थिति आउट अफ कन्ट्रोल भयो । यी सबै भूमिकामा हामी असफल भयौं भन्ने लाग्छ मलाई त्यो दिन ।’

उनले वर्तमान सरकारले बनाएको छानबिन आयोग र त्यसको निष्पक्षतामाथि पनि प्रश्न उठाए । गौरिबहादुर कार्कीको नेतृत्वमा आयोग बनेको थिएन भने आफ्ना पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पठाउने विषयमा एमालेले नै संस्थागत निर्णय नै गरेर पठाउने उनले बताए । ‘आज मात्रै होइन, विश्वका कुनै पनि कम्युनिस्ट पार्टीहरूले बहुलवादलाई स्वीकार नगरेको बेला मेरा आदरणीय नेता, स्वर्गीय नेता जननेता मदन भण्डारीले वैधानिकता, वैधानिक कानुन, बहुलतालाई स्वीकार र आत्मसात गरेको पार्टीको म अगुवा कार्यकर्ता पनि हुँ। वैधानिक शासन र कानुनी राज्यको पक्षमा वकालत गर्ने, मानव अधिकारको पक्षमा वकालत गर्ने पहिलो कम्युनिस्ट पार्टी हाम्रो हो,’ कार्कीले भने, ‘अब यो आयोगमा आयोगको प्रमुख पनि बनाउनुभयो उहाँहरूले… उहाँ गौरी बहादुर कार्की २३ र २४ गते कहाँ हुनुहुन्थ्यो, के गर्दै हुनुहुन्थ्यो भन्ने कुरा स्पष्ट छ। …कानुनी राज्यमा यस्तो गर्न पाइँदैन। उहाँको ठाउँमा अरुकै नेतृत्वमा आयोग बनेको भए त्यहाँ जाने कुरा बयान दिन जाने कुरा बाध्यता हुन्थ्यो, हाम्रो पार्टीले संस्थागत निर्णय गरेर पठाउँथ्यो। तर त्यहाँ उहाँहरू चुक्नुभयो, त्यसले गर्दा हामी बयान दिन्नौं भनेर पनि भन्या छौं ।’

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds