काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्रको आपसी मतभिन्नता र व्यक्तिगत महत्त्वाकांक्षालाई तिलाञ्जली दिएर आगामी राष्ट्रिय निर्वाचनको तयारीमा होमिनुको विकल्प नभएको बताएका छन् ।
राष्ट्रिय एकता र मेलमिलाप दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै नेता कोइरालाले देशको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र स्वतन्त्रताको रक्षाका लागि मेलमिलापको नीति नै सबैभन्दा बलियो आधार भएको उल्लेख गरेका छन् ।
कोइरालाले तत्कालीन समयमा विश्वका महाशक्ति राष्ट्रहरूबीचको द्वन्द्व र खिचातानीबाट नेपालको अस्तित्व जोगाउन बीपी कोइरालाले लिएको राष्ट्रिय एकता र मेलमिलापको नीति अहिलेको समयमा झन् सान्दर्भिक भएको बताए । ‘आज पाँच दशकपछि फेरि विश्वमा महाशक्ति राष्ट्रहरूको दबाब र स्वार्थहरू अगाडि आएको हामी अनुभव गर्दैछौँ,’कोइरालाले भनेका छन्, ‘यस परिस्थितिमा हामीले हाम्रा श्रद्धेय नेता बीपीको विचारलाई फेरि एकपटक मन, वचन र कर्मले मनन गर्नुपरेको छ ।’
नेता कोइरालाले राष्ट्रिय मेलमिलापको विषय अब कांग्रेसको मात्र नभई सम्पूर्ण नेपालीहरूको साझा एजेण्डा बन्नुपर्नेमा जोड दिएका छन् । उनले सत्ताको लुछाचुँडीभन्दा माथि उठेर सार्वभौम नेपालीहरूको जागरूक सतर्कता र ऐक्यबद्धता आवश्यक रहेको तर्क गरे । उनले भनेका छन्, ‘बीपीको सन्देशको मर्मलाई आज यो देशको सोच, उद्देश्य र साझा प्रतिबद्धता बनाउने जिम्मेवारी नेपाली कांग्रेसको काँधमा छ ।’
कांग्रेसभित्रको एकता नै राष्ट्रिय मेलमिलापको पहिलो खुड्किलो भएको कोइरालाको भनाइ छ । उनले पार्टीभित्रको एकता राष्ट्रकै लागि अनिवार्य तत्व भएको मनन गर्न नेताहरूलाई आग्रह गरे ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।