विराटनगर ।कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कार्कीले देशको पछिल्लो राजनीतिक र सामाजिक अवस्थाप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन् । कोशी प्रदेशस्तरीय सुरक्षा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले भदौ २३ र २४ गते भएका घटनाक्रमलाई नेपालको इतिहासमा ‘विध्वंश’को संज्ञा दिएका हुन् ।
पछिल्लो समय युवा पुस्तामा देखिएको ‘जेन–जी’ आन्दोलनलाई सुधारको संकेत नभई विनाशकारी गतिविधिका रूपमा व्याख्या गर्दै उनले चिन्ता व्यक्त गरे । मुख्यमन्त्री कार्कीले वर्तमान सरकारको नेतृत्व र कार्यशैलीमाथि पनि गम्भीर प्रश्न उठाएका छन् ।
सम्बोधनका क्रममा मुख्यमन्त्री कार्कीले वर्तमान गृहमन्त्री ओमप्रकाश अर्याललाई ‘कार्यकर्ता’को संज्ञा दिँदै उनको विगत स्मरण गरे । ‘२०५० सालमा ल क्याम्पस पढ्न आउँदा हामीले उहाँलाई स्वागत गरेका थियौँ,’ कार्कीले भने, ‘तर आज उहाँ जुन जिम्मेवारीमा हुनुहुन्छ, त्यहाँ हिजोको राजनीतिक सरकार र आजको सरकारबीच आकाश–पातालको फरक देखिएको छ ।’
त्यसैगरी, प्रधानमन्त्री सुशीला कार्कीलाई ‘गुरुआमा’ भन्दै उनले वर्तमान सरकार पूर्णतः गैरदलीय भएको जिकिर गरे । उनले यो सरकारको एकमात्र म्यान्डेट निर्वाचन गराउनु रहेको स्मरण गराउँदै सरकारलाई अन्य विषयमा नअल्झिन सुझाव दिए । ‘काँधमा राष्ट्रिय झण्डा बोकेर देश जलाउन खोज्नेहरू सक्रिय छन्,’ उनले सुरक्षा बैठकमा भने, ‘परिस्थिति यतिसम्म जटिल बन्यो कि हामी झण्डै भाग्नुपर्ने अवस्थामा पुग्यौँ ।’
मुख्यमन्त्री कार्कीले तोकिएको ६४ दिनको बाँकी अवधिमा निर्वाचन हुने सम्भावना निकै कम रहेको दाबी गरे । उम्मेदवारहरूलाई धम्की दिने र चुनावी वातावरण बिथोल्ने प्रयास भइरहेको उनको तर्क थियो । साथै, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बयान लिने कुरालाई उनले ‘गलत र पूर्वाग्रही’ कदमको रूपमा अर्थ्याए ।
सरकारद्वारा गठित गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगप्रति पनि उनले अविश्वास प्रकट गरे । उनले भने, ‘गौरी बहादुर कार्की कता हुनुहुन्थ्यो र उहाँको सामाजिक सञ्जालमा कस्ता धारणा आउँछन् भन्ने सबैलाई थाहा छ । यस्तो अवस्थामा आयोगको नतिजा कस्तो आउला भन्ने प्रष्ट छ ।’
सोही अवसरमा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री रेवती रमण भण्डारीले सुरक्षा चुनौतीबारे प्रकाश पारे । उनले विभिन्न समयमा लुटिएका हतियारहरू निर्वाचनमा दुरुपयोग हुन सक्ने खतरा रहेको भन्दै सतर्क रहन आग्रह गरे । जेलबाट भागेका कैदीबन्दी र सवारी साधनको स्वामित्वका विषयमा संघीय सरकारले स्पष्ट जवाफ दिनुपर्ने उनको माग थियो ।
मन्त्री भण्डारीले सडकमा भइरहेको गैरकानुनी असुली र सुशासनको अभावप्रति पनि गुनासो गरे । ‘सडकमा भइरहेको असुलीले भारतीय पर्यटकहरू मर्कामा परेका छन्, यसले हाम्रो पर्यटन क्षेत्रलाई नै नकारात्मक असर पुर्याइरहेको छ, उनले भने ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।