विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलहरूले निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाएका छन् ।
प्रत्यक्ष निर्वाचन लड्न नसक्ने, पछाडि पारिएकाउत्पीडित र सीमान्तकृतको प्रतिनिधित्वको लागि बनाइएको समानुपातिक प्रणालीकै धज्जी काड्ने नामावली दलहरुले निर्वाचन आयोगमा बुझाएको देखिएको छ ।
नेपाली कम्युनिष्ट पार्टीले यसअघि कुनै अवसर नपाएका नयाँ उम्मेदवार समानुपातिक सुचीमा समावेश गर्दा नेपाली काँग्रेस र नेकपा एमालले भने यसअघि सांसद र मन्त्री भएकादेखि यसअघि प्रत्यक्ष निर्वाचन जितेका र हारेकालाई पनि सुचीमा राखेको छ ।
नयाँ विकल्प भनिएको दल राष्ट्रिय स्वतन्त्र पार्टीले त सिमान्तकृत र पछाडि पारिएका हैन, नाम चलेका सेलिब्रेटी, व्यवसायी र व्यापारिक घरानाका व्यक्तिहरुलाई समेटेको छ । यस्तै, नेताहरुका आफन्त र छिमेकीसम्मको नाम राखिएको भन्दै सो पार्टीभित्रै विरोध सुरु भइसकेको छ ।
समानुपातिक सुचीमा नेकपा एमालेले यसअघि पटक–पटक प्रत्यक्ष निर्वाचन जितेर मन्त्री भइसकेका उपाध्यक्ष रामबहादुर थापा बादल र सचिव पद्मा अर्यालदेखि यसअघि पटक–पटक चुनाब हारेका गुरु बररालसम्मलाई समेटेको छ । यसअघि यसअघि समानुपातिकबाटै सांसद भएका शान्ता चौधरी, कोमल ओली, निरु पालसम्मलाई एमालेले फेरि समानुपातिक उम्मेदवार बनाएको छ ।
नेपाली काँग्रेसले यसअघि प्रत्यक्ष निर्वाचन जितेको अर्जुननरसिंह केशीदेखि गत प्रतिनिधिसभा निर्वाचन हारेका भिष्मराज आङ्दम्बेसम्मलाई समानुपातिक उम्मेदवार बनाएको छ । काँग्रेसमा नेताका आफन्तले पनि राम्रै स्थान पाएका छन् । पूर्वराष्ट्रपति रामवरण यादवपुत्र चन्द्रमोहन यादव, नेता विमलेन्द्र निधिकी भाञ्जी निनु कर्णदेखि बलबहादुर केसीकी श्रीमती रिना उप्रेतीसम्म काँग्रेसको समानुुपातिक सुचीमा छन् ।
नयाँ विकल्प भनिएको दल रास्वपाको अवस्था पनि उस्तै छ । रास्वपाले उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालका छोरा सचिन ढकाललाई समानुपातिक उम्मेदवार बनाएको छ । यस्तै, पूर्वराजदूत भीमकृष्ण उदासकी छोरी सुम्निता उदास, रास्वपाबाट समानुपातिक सांसद असीम शाहका दाजु आसिफ शाह, उपसभापति कुलमान घिसिङका भाञ्जा डा.राम लामा रास्वपाको समानुपातिक उम्मेदवार छन् । इलाममा भएको गत प्रतिनिधिसभा उपनिर्वाचनमा पराजित भएका मिलन लिम्बू पनि रास्वपाको समानुपातिक सुचीमा छन् ।
रास्वपाले उम्मेदवार छान्न आन्तरिक प्रतिस्पर्धा भन्दै कार्यकर्ताको अनलाईन भोटिङ गराएको थियो । तर, कार्यकर्ताले धेरै मत दिएकाहरुलाई पछाडि राखेर कम मत पाउनेहरुलाई अगाडि ल्याएको छ । खसआर्यतर्र्फ सातौं मत प्राप्त गरका सहमहामन्त्री विपिनकुमार आचार्यलाई १ नम्बरमा राखेको रास्वपाले त्यही क्लस्टरमा सबैभन्दा बढी भोट ल्याउने रमेश प्रसाईंलाई पाँचौं नम्बरमा राखेको छ । दलितर्र्फ सबैभन्दा धेरै मत पाएका विजय जैरुको त सुचीमै नाम छैन ।
इलाम क्षेत्र नम्बर २ को गत उपनिर्वाचनमा कुल सदर मतको १० प्रतिशत मत समेत ल्याउन नसकी जमानत जफत भएका मिलन लिम्बूलाई रास्वपाले समानुपातिकको बन्दसूचीमा राखेको हो । उपनिर्वाचनमा उनले ५ हजार ५० मत मात्र पाएका थिए ।
कोशी प्रदेशबाट उम्मेदवार भएकाहरुको अवस्था हेर्दा समानुपातिक दुरुपयोगको अग्रभावमा नेकपा एमालेका नेता गुरु बरालको नाम आउँछ । खसआर्यतर्फ पहिलो नम्बरमा नाम राखिएका बराल एमालेको भर्खरै भएको ११औँ महाधिवेशनमा उपाध्यक्ष पदमा पराजित भएका बराल थिए । ३ वर्ष अगाडि राष्ट्रियसभाको निर्वाचनमा पराजित भएका उनी २०५१ को मध्यावधि चुनावमा मोरङ ६ बाट विजयी भएपछि पाँच निर्वाचनमा पराजित भइसकेका छन् ।
२०५६ मा काँग्रेसका हरिनारायण चौधधरीसँग मोरङ ६ मा, २०६४ माओवादीका गोपी अछामीसँग मोरङ ८ मा र २०७० कांग्रेसका दिलीप गच्छदारसँग मोरङ३ मा पराजित भएका उनलाई एमालेले २०७८ सालमा राष्ट्रियसभाको उम्मेदवार बनाएको थियो । काँग्रेसका गोपाल बस्नेतसँग बराबरी मत ल्याएका उनले गोला तान्दा पराजित भएका थिए ।
एमाले अध्यक्ष केपी ओलीका विश्वासपात्र भएकै कारण अहिले उनलाई सांसद बनाउन समानुपातिक सुुचिमा राखिएको हो । उनी एमाललेको गत महाधिवेशनमा उपाध्क्ष मात्र नभएर केन्द्रीय सदस्यमा पनि पराजित भएका थिए । एमाले अध्यक्ष ओलीले महाधिवेशनमा पराजित भएका अन्य नेताहरुलाई भने सुचीमा राखेका छैनन् ।
२०६४ मा मोरङ क्षेत्र नम्बर ३ मा तत्कालिन नेकपा माओवादीका सावित्रीकुमार काफ्लेसँग पराजित बनेका नरेश पोख्रेलको नाम पनि एमालेको बन्दसुचिमा छ । खोटाङबाट यसअघि समानुपातिकमा संविधानसभा सदस्य, प्रदेश सांसद र मन्त्री भइसकेकी उषाकला राईको नाम पनि बन्दसूचीमा छ ।
यसअघि संविधानसभा सदस्य राजदुतसमेत भइसकेकी संखुवासभाकी लक्की शेर्पा पनि एमालेको समानुपातिक सुचीमा छन् । यसअघि उदयपुरबाट प्रतिनिधिसभामा जितेकी र गत निर्वाचनमा पराजित भएकी मञ्जु चौधरी पनि एमालेको समानुपातिक उम्मेदवार बनेकी छन् ।
सविधानसभा सदस्य विष्णुमाया विश्वकर्मा पनि फेरि समानुपातिकतको बन्दसुचीमा परेकी छन् । यसअघि झापाको कमल गाउँपालिका अध्यक्ष भइसकेकी मेनुका काफ्ले पनि समानुपातिक सुचीमा छन् । पाँचथरबाट गत निर्वाचनमा प्रतिनिधिसभा सदस्य जितेका बसन्त नेम्बाङकी श्रीमती भूमिका सुब्बालाई पनि एमालेले समानुपातिक सुचीमा राखेको छ ।
एमालेसँगै काँग्रेसको अवस्था पनि उस्तै छ । पाँचथरबाट ४७ मतको झिनो अन्तरले एमालेका नेम्वाङसँग पराजित भएका नेपाली कांग्रेसका सह–महामन्त्री भीष्मराज आङ्देम्बेले प्रत्यक्ष चुनाव नलड्ने घोषणा गरेका थिए । अहिले उनको नाम समानुपातिक सुचीमा राखिएको छ ।
कांग्रेसको समानुपातिक सूचीमा केन्द्रीय सदस्य बलबहादुर केसीकी श्रीमती रिना उप्रेतीको नाम समावेश छ । केसी गत प्रतिनिधिसभा निर्वाचनमा सोलुखुम्बुबाट पराजित भएका थिए । अहिले उनकी श्रीमतिलाई समानुपातिकमा राखिएको हो ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।