लोड हुँदैछ...

मेनु

रास्वपा र कुलमान एकताप्रति पहिचानवादी असहमत : यो एकीकरण होइन, बिलय हो : डकेन्द्र सिंह थेगिम

रास्वपा र कुलमान एकताप्रति पहिचानवादी असहमत : यो एकीकरण होइन, बिलय हो : डकेन्द्र सिंह थेगिम

विराटनगर । कुलमान घिसिङको अगुवाइमा निर्माण भएको उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच भएको ७ बुँदे सहमतिप्रति पहिचानवादी नेताहरुले असन्तुष्टि व्यक्त गरेका छन् । उज्यालो नेपाल पार्टीमा रहेका पहिचानवादी नेताहरुले यो एकता प्रक्रियामा आफूहरु समावेश नहुने बताए ।

प्रदेश १ पुनः नामकरण संघर्ष समितिका संयोजक समेत रहेका डकेन्द्रसिंह थेगिमले आफूहरुको टिम यो एकता प्रक्रियामा नजाने बताए । रास्वपासँग केवल चुनावी सहकार्य गर्ने प्रारम्भिक बुझाइ भए पनि कुलमान घिसिङले एक्कासी पार्टी नै विलय गराउनु रहस्यमय भएको थेगिमले बताए । ‘हिजोसम्म पहिचान र अस्तित्व मेटिने गरी कसैसँग मिल्दैनौँ भन्ने कुलमानजीले आज न पार्टीको नाम, न चुनाव चिन्ह रहने गरी रास्वपामा प्रवेश गर्नुभयो,’ उनले भने, ‘यो एकीकरण हुँदै होइन, यो त निशर्त प्रवेश वा आत्मसमर्पण मात्र हो ।’

रास्वपा सभापति रवि लामिछानेले संघीयता र धर्मनिरपेक्षताको विपक्षमा जनमत बनाइरहेका बेला कट्टर पहिचानवादीहरू उही पार्टीमा समाहित हुनुलाई अप्राकृतिक हुने पहिचानवादी नेताको दाबी छ ।

पहिचानवादीहरूको बटमलाइन संघीयता, धर्मनिरपेक्षता र पहिचानसहितको प्रदेश रहेको बताउँदै थेमिगले भने, ‘संघीयता र धर्मनिरपेक्षताकै विरोध गर्ने शक्तिसँग घाँटी जोडेर हाम्रा मुद्दा कसरी सम्बोधन हुन्छन् ? रास्वपाले यी कुरा स्वीकार गर्ने कुनै छाँट छैन ।’

यस कदमप्रति डा. महेन्द्र लावतीले पनि सार्वजनिक रूपमै असहमति प्रकट गरिसकेका छन् । कुलमान घिसिङको पछाडि लागेका संघीय समिति सदस्य र कार्यकर्ताहरूको ठूलो हिस्सा अहिले नेतृत्वको विपक्षमा उभिएको थेगिमले बताए । अभियन्ताहरूले अब कुलमान बिनाको छुट्टै पहिचानवादी शक्ति निर्माण गर्ने संकेत गरेका छन् ।

निर्वाचनका लागि समानुपातिकको बन्द सूची बुझाइसकिएको र प्रक्रिया अगाडि बढिसकेको प्राविधिक अवस्थामा नयाँ पार्टी दर्ता गर्न कठिन भए पनि अभियन्ताहरूले विकल्प खोज्ने बताएका छन् । ‘हामी बीचको एकता अझै मजबुत छ । चुनावका लागि कि त अरु कुनै दलसँग सहकार्य हुन्छ वा स्वतन्त्र उम्मेदवारी दिएर भए पनि पहिचानको आन्दोलनलाई मर्न दिँदैनौँ,’ थेगिमले भने ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds