काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपाल सरकारका ऊर्जामन्त्री कुलमान घिसिङ पदबाट राजीनामा नदिई राजनीतिक दलको उपसभापति बनेको भन्दै कडा आपत्ति जनाएका छन् ।
सोमबार साँझ ऊर्जामन्त्री घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति नियुक्त भएका हुन् । रास्वपा सभापति रवि लामिछाने र बालेन्द्र साहले घिसिङलाई उपसभापति बनाउने निर्णय गरेसँगै उनी आफ्नो उज्यालो नेपाल पार्टीसहित रास्वपामा समाहित भएका थिए ।
गैरदलीय चुनावी सरकारको मन्त्री जस्तो जिम्मेवार पदमा बहाल रहेकै अवस्थामा एउटा राजनीतिक दलको पदाधिकारी बनेको भन्दै महासचिव पोखरेलले यसको नैतिकतामाथि प्रश्न उठाएका हुन् ।सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पोखरेलले भनेका छन्, ‘वैकल्पिक शक्तिको दाबी गर्नेहरूले गैरदलीय चुनावी सरकारका मन्त्रीलाई राजीनामा नदिई उपसभापति बनाउनु कति उचित हो ?’
उनले वैकल्पिक राजनीतिको नारा दिने शक्तिहरूले नै स्थापित लोकतान्त्रिक मान्यता र प्रशासनिक मर्यादाको उल्लंघन गरेको संकेत गरेका छन् । चुनावी सरकारका मन्त्रीहरू कुनै पनि दलमा आबद्ध हुनु वा दलको जिम्मेवारी सम्हाल्नु अघि पदबाट राजीनामा दिनुपर्ने संसदीय परम्परा र नैतिक मूल्य रहेको तर्फ पोखरेलले ध्यानाकर्षण गराएका छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।