विराटनगर । ४१ क्लब नं. १, विराटनगरले सामाजिक सेवा कार्यक्रम अन्तर्गत विराटनगरस्थित राम आधारभूत विद्यालयका १०० जना विद्यार्थीहरूलाई विभिन्न सामग्री सहयोग गरेको छ। बुद्ध नगरमा रहेको सो विद्यालयका विद्यार्थीहरूलाई जाडोका लागि स्वीटर, स्टेशनरी र खेलकुद सामग्री वितरण गरिएको हो।
क्लबले विद्यार्थीहरूको शैक्षिक प्रोत्साहनका साथै शारीरिक र मानसिक विकासमा सहयोग पुर्याउने उद्देश्यले कापी, कलम लगायतका स्टेशनरी सामग्रीका साथै फुटबल, क्रिकेट सेट र लुडो जस्ता इन्डोर खेल सामग्री प्रदान गरेको जनाएको छ।
सामग्री वितरण कार्यक्रममा बोल्दै ४१ क्लब नं. १ का अध्यक्ष सुभाष अग्रवालले बालबालिकाको शिक्षा र स्वास्थ्यमा गरिएको लगानीले नै समाजको भविष्य बलियो बनाउने धारणा राखे। उनले सरकारी विद्यालय र विपन्न वर्गका बालबालिकाको उत्थानका लागि क्लबले निरन्तर कार्य गर्दै आएको र आगामी दिनमा पनि यसलाई जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा क्लबका सदस्यहरू राजकुमार गोयल, राजकुमार गोल्छा, सुरेन्द्र गोल्छा, रमेश राठी, किशन तोडी, दिनेश राठी, कमलेश अग्रवाल र मनीष बोहराको उपस्थिति रहेको थियो।
यसअघि पनि ४१ क्लब नं. १ ले सोही विद्यालयमा घेराबार निर्माण, खानेपानी सुविधा र शौचालय निर्माणमा सहयोग गरेको थियो। क्लबको निरन्तर सहयोगले विद्यालयको भौतिक पूर्वाधार र सरसफाइको अवस्थामा उल्लेख्य सुधार आएको विद्यालय प्रशासनले जनाएको छ।
विद्यालयका शिक्षक तथा प्रशासनले क्लबको यो मानवीय कार्यप्रति आभार प्रकट गर्दै यस्ता सहयोगले विद्यार्थीहरूको सिकाइ र विद्यालयप्रति आकर्षण बढ्ने बताएका छन्। ४१ क्लबले शिक्षा, स्वास्थ्य र सामाजिक विकासका क्षेत्रमा विराटनगरमा सक्रियतापूर्वक कार्य गर्दै आएको छ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।