ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ स्थित तमोर फाइभ हाइड्रोपावरको आउटलेट सुरुङमार्गमा काम गर्ने क्रममा एक मजदुरको मृत्यु भएको छ ।
माथिबाट झरेको ढुङ्गाले लागेर एक जना मजदुरको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएको प्रहरीले जनाएको छ ।
ताप्लेजुङका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमका अनुसार शुक्रबार बिहान भएको दुर्घटनामा गुराँस गाउँपालिका–३, दैलेखका २४ वर्षीय भद्रबहादुर शाहीको मृत्यु भएको हो । ढुङ्गाले लागेर गम्भीर घाइते भएका शाहीलाई उपचारका लागि आधारभूत स्वास्थ्य संस्था तापेथोक लगिएको थियो । तर, उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मधुवन नगरपालिका–४, बर्दियाका ३३ वर्षीय आकाश खड्का घाइते भएका छन् । खड्काको दाहिने खुट्टा भाँचिएको छ । प्राथमिक उपचारपछि उनलाई जिल्ला अस्पताल ताप्लेजुङमा थप उपचारका लागि लगिएको प्रहरीले जनाएको छ ।
मृतक शाहीको शव परीक्षणका लागि जिल्ला अस्पताल ताप्लेजुङ पठाइएको छ । घटनास्थलमा प्रहरी चौकी तापेथोकबाट प्रहरी सहायक निरीक्षक पर्शुराम राउतको कमाण्डमा टोली खटिएको थियो ।
घटनाको अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी निरीक्षक आशिष पोखरेलको कमाण्डमा समेत टोली परिचालन गरिएको प्रहरी प्रमुख गौतमले जानकारी दिएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।