धरान । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बन्द रहेको फार्मेसी सेवा पाँच महिनापछि पुनः सञ्चालनमा आएको छ ।
करिब ५ करोड ५० लाख रुपैयाँ बराबरको औषधि अनियमित भएको देखिएपछि बन्द गरिएको फार्मेसी शुक्रबारदेखि पुनः सञ्चालनमा ल्याइएको हो ।
प्रतिष्ठानका प्रवक्ता प्रा.डा. अञ्जु प्रधानका अनुसार बिरामीलाई गुणस्तरीय औषधि सुलभ मूल्यमा उपलब्ध गराउने उद्देश्यसहित फार्मेसी सेवा पुनः सुरु गरिएको हो । फार्मेसीको उद्घाटन प्रतिष्ठानका उपकुलपति प्रा.डा. विक्रम प्रसाद श्रेष्ठ, शिक्षाध्यक्ष प्रा.डा. संजीवकुमार शर्मा, रजिष्ट्रार प्रा.डा. सूर्यप्रसाद संग्रौला र अस्पताल निर्देशक डा. जगतनारायण प्रसादले संयुक्त रूपमा गरेका छन् ।
फार्मेसीमार्फत नेपाल सरकारको स्वास्थ्य बीमामा आबद्ध सेवाग्राहीले पनि औषधि प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ । फार्मेसी सञ्चालन निजी कम्पनी ‘केटीएम सेक्युरिटी सर्भिसेज प्रालि’लाई ठेक्कामा दिइएको थियो ।
प्रतिष्ठानका अनुसार कम्पनीले पटक–पटक पत्राचार गर्दा पनि आफ्नो प्रतिनिधि उपस्थित नगराएकाले भौतिक परीक्षण हुन नसकेको भन्दै नियमित भुक्तानी रोकिएको थियो । मासिक तलब नपाएको भन्दै कम्पनीमार्फत कार्यरत कर्मचारीले गत साउन १८ गतेदेखि आन्दोलन थालेपछि फार्मेसीबाट औषधि बिक्री वितरण अवरुद्ध भएको थियो ।
प्रतिष्ठानले वैकल्पिक व्यवस्था गर्दै साउन २० गते फार्मेसीमा रहेको स्टकको भौतिक परीक्षण गर्दा केही अस्वाभाविक तथ्य फेला परेपछि हाडजोर्नी विभागका एडिसनल प्रोफेसर डा. विष्णु पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको थियो । प्रारम्भिक अनुसन्धानमा करिब ५ करोड ५० लाख रुपैयाँ बराबरको औषधिमध्ये ५० लाख रुपैयाँको स्टक नदेखिएको, ३६ लाख रुपैयाँ नगद हिसाब नमिलेको, ४ लाख रुपैयाँ बराबरको बिक्री गडबडी तथा १४ लाख रुपैयाँभन्दा बढी मूल्यका म्याद गुज्रिएका औषधि फेला परेको प्रतिष्ठानले जनाएको छ ।
छानबिन समितिले २५ दिनभित्र प्रतिवेदन बुझाउने तय भएपनि छानबिन अझै जारी रहेको प्रवक्ता प्रधानले जानकारी दिइन् । प्रारम्भिक तथ्यका आधारमा मात्र अनुसन्धान भइरहेको र समितिको अन्तिम प्रतिवेदन आएपछि मात्र दोषी निर्धारण तथा कारबाही प्रक्रिया अघि बढाइने उनले बताइन् ।
फार्मेसी पुनः सञ्चालनसँगै बिरामीले बाहिरका मेडिकलमा महँगो मूल्य तिरेर औषधि खरिद गर्नुपर्ने समस्या अब कम हुने विश्वास गरिएको छ । प्रतिष्ठानको फार्मेसीमा औषधि बाहिरी बजारभन्दा सस्तोमा उपलब्ध हुने गरेको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।