विराटनगर । विराटनगर महानगरपालिकाले खसी बाख्रालाई पीपीआर र बंगुरलाई स्वाइन फिभरविरुद्धको खोप लगाउन थालेको छ ।
महानगरको कृषि तथा पशुपन्छी विकास शाखाको आयोजनामा शुक्रबारदेखि खसी, बाख्रा र सुँगुर–बँगुरमा लाग्ने पीपीआर/स्वाइन फिभरविरुद्धको निःशुल्क खोप लगाउन थालिएको हो ।
विराटनगर–४ इक्राहीस्थित पूजा कृषि फर्मबाट खोप अभियान सुरु गरिएको शाखाका संयोजक हिरालाल यादवले जानकारी दिए । आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेको प्रमुख आतिथ्यता तथा वडा नम्बर ४ का अध्यक्ष जितन थापाको अध्यक्षतामा खोप अभियान सुरु गरिएको हो ।
महानगरभित्रका सबै वडामा कृषकले पालेका २४ हजार १०० खसी–बाख्रालाई पीपीआरविरुद्ध खोप लगाइनेछ । त्यस्तै सुँगुर–बँगुरलाई १ हजार १०० डोज खोप लगाइने शाखाका संयोजक यादवले जानकारी दिए ।
महानगरका सबै वडामा खोप अभियान सञ्चालन गरिनेछ । खोप लगाइसकेपछि पीपीआर/स्वाइन फिभरबाट हुने मृत्युको जोखिम कम हुने यादवले बताए ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।