लोड हुँदैछ...

मेनु

नेकपा एमाले मोरङमा समानुपातिक उम्मेदवार सिफारिसलाई लिएर असन्तुष्टि चुलियो

नेकपा एमाले मोरङमा समानुपातिक उम्मेदवार सिफारिसलाई लिएर असन्तुष्टि चुलियो

विराटनगर । नेकपा एमाले मोरङ जिल्ला कमिटीले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारहरूको नाम सिफारिस गरेसँगै पार्टीभित्र तीव्र असन्तुष्टि र विवाद उत्पन्न भएको छ। पार्टीमा कुनै पर्याप्त छलफल नगरी ‘गोप्य ढङ्ग’ ले २८ जनाको नाम प्रदेश कमिटीमा सिफारिस गरिएको भन्दै नेता तथा कार्यकर्ताहरूले नेतृत्वको कार्यशैलीप्रति आपत्ति जनाएका छन्।

जिल्ला कमिटीले सिफारिस गरेका नामहरू सार्वजनिक भएलगत्तै मोरङका प्रभावशाली नेता तथा कार्यकर्ताहरूले सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमै विरोध सुरु गरेका छन्। एमाले मोरङका युवा नेता मुकेश बुढाथोकीले उम्मेदवार छनोट प्रक्रियालाई ‘गम्भीर छल र अन्याय’ को संज्ञा दिँदै सामाजिक सञ्जालमा कडा प्रतिक्रिया दिएका छन्। उनले आम पार्टी कार्यकर्ताको भावना, योगदान र अधिकारलाई बेवास्ता गर्दै एकतर्फी ढङ्गबाट नाम सिफारिस गरिएको भन्दै आपत्ति जनाएका हुन् ।

बुढाथोकीले लेखेको स्टाटसमा एमाले मोरङकी नेतृ रिता न्यौपानेलगायतका नेताहरूले पनि समर्थन जनाउँदै सिफारिसको जानकारीबाट आफूहरू ‘अचम्ममा परेको’ टिप्पणी गरेका छन्। पार्टीभित्र पारदर्शिता र सहभागितामूलक निर्णय हुनुपर्नेमा नेतृत्वले गुपचुप रूपमा आफ्ना निकटका व्यक्तिहरूको नाम पठाएको आरोप असन्तुष्ट पक्षको छ ।

जिल्ला कमिटीले विभिन्न क्लस्टरअन्तर्गत २८ जनाको नाम सिफारिस गरेको छ। जसमा खुल्ला तर्फ एमालेका निवर्तमान उपाध्यक्ष गुरु बरालसहित नरेश पोखरेल, बाबुराम कार्की र हरि घिमिरे रहेका छन् ।

महिला तर्फ उर्लाबारीकी पूर्वउपप्रमुख लक्ष्मी भण्डारी, सरस्वती खरेल, विमला घिमिरे र अञ्जु उपाध्यायको नाम सिफारिस गरिएको छ। आदिवासी जनजाती तर्फ ज्ञानेश्वर राजवंशी, भूवनसिंह राई, भूराज राई र इर्जालाल राजवंशीको नाम रहेको छ भने जनजाति महिलातर्फ धना तामाङ र शान्ति लिम्बु सिफारिसमा परेका छन् ।

त्यसैगरी, थारु खुल्लातर्फ सत्यनारायण चौधरी र थारु महिलामा किरण चौधरीको नाम छ। मधेशी खुल्लातर्फ रामलाल साह र रुपनारायण मिश्रको नाम पठाइएको छ। अल्पसंख्यक खुल्लामा लुखिराम हस्दा र अल्पसंख्यक महिलामा अनिता सोरेन परेका छन् ।

मुस्लिम कोटातर्फ खुल्लामा मो. नूरहसन मिया, ईमाम हैदर र हसन इमाम बक्सको नाम सिफारिस भएको छ भने मुस्लिम महिलामा मञ्जिता खातुनको नाम छ। दलित खुल्लातर्फ मोहनलाल सरदार, जितनारायण सरदार र डिल्ली विश्वकर्माको नाम सिफारिस भएको छ भने दलित महिलामा गिता शिखाको नाम रहेको एमाले मोरङले जनाएको छ ।

विधि र प्रक्रिया मिचेर गरिएको भनिएको यो सिफारिसले निर्वाचनको मुखमा पार्टीभित्र आन्तरिक कलह निम्त्याउने संकेत देखिएको छ। कार्यकर्ताहरूले नेतृत्वलाई यो निर्णय सच्याउन र पारदर्शी ढङ्गले पुनः छलफल गर्न दबाब दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।