लोड हुँदैछ...

मेनु

विराटनगरको फोहर व्यवस्थापनको सकस टर्यो : स्थानीय र महानगरबीच ७ बुँदे सहमति

विराटनगरको फोहर व्यवस्थापनको सकस टर्यो : स्थानीय र महानगरबीच ७ बुँदे सहमति

विराटनगर । विराटनगर महानगरपालिकामा विगत ५ दिनदेखि देखिएको फोहर व्यवस्थापनको समस्या तत्कालका लागि समाधान भएको छ । ल्यान्डफिल साइट (फोहर विसर्जन केन्द्र) स्थानान्तरणको विषयमा छिमेकी सुनसरीको बर्जु गाउँपालिकाका बासिन्दा र महानगरबीच उत्पन्न विवाद बिहीबार भएको ७ बुँदे सहमतिसँगै टुङ्गिएको हो ।

महानगरले एक दशकदेखि विराटनगर–६ ब्रह्मपुरामा फोहर विसर्जन गर्दै आएकोमा पुस १ गतेदेखि वडा नम्बर १६ दरैयास्थित आफ्नै जग्गामा फोहर व्यवस्थापन सुरु गरेको थियो । तर, त्यहाँ फोहर फाल्दा दुर्गन्ध फैलिने र केसलिया खोला प्रदूषित भई स्वास्थ्यमा असर पर्ने भन्दै बर्जु–२ का बासिन्दाले अवरोध गरेका थिए । स्थानीयको अवरोधका कारण ५ दिनदेखि विराटनगरको फोहर संकलन हुन सकेको थिएन ।

विवाद समाधानका लागि जिल्ला प्रशासन कार्यालय मोरङमा भएको वार्तामा फोहर व्यवस्थापनलाई व्यवस्थित बनाउने सहमति भएको छ । सहमतिका बुँदाहरूमा फोहरको दुर्गन्ध रोक्न दैनिक केमिकल प्रयोग गर्ने, फोहरलाई माटोले पुर्ने, विसर्जन केन्द्रसम्म पुग्ने सडक स्तरोन्नति गर्ने, फोहर बोक्ने गाडीलाई अनिवार्य त्रिपालले छोप्ने र केसलिया खोलामा फोहर मिसिन नदिन तटबन्ध निर्माण गर्ने उल्लेख छ ।

सहमति कार्यान्वयनको अनुगमन गर्न विराटनगर–१६ का वडाध्यक्ष उद्धवकुमार भुजेलको संयोजकत्वमा बर्जु गाउँपालिकाका प्रतिनिधिहरू सम्मिलित एक समिति समेत गठन गरिएको छ । साथै, एसियाली विकास बैंकको सहयोगमा व्यवस्थित विसर्जन केन्द्र निर्माणका लागि पहल गर्ने पनि सहमति भएको छ ।

सहमतिपछि बिहीबारबाटै विराटनगरको दैनिक करिब १०५ मेट्रिक टन फोहर संकलन र विसर्जनको काम पुनः सुरु भएको छ । स्थानीयले भने सहमति पालना नभए पुनः आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds