विराटनगर । महिला उद्यमी अंकिता गिरीले नयाँ व्यवसाय सुरु गर्न चाहने स्टार्टअपहरूलाई ठूलो सपना देख्न र सानैबाट भए पनि बलियो गरी काम सुरु गर्न सुझाव दिएकी छन् । मोरङ उद्योग व्यापार संघद्वारा आयोजित ‘विराट ट्रेड एक्स्पो’ मा आफ्नो व्यावसायिक अनुभव सुनाउँदै उनले भनिन्, “सपना ठूलो देख्नुहोस्, लक्ष्य उच्च राख्नुहोस्, तर सुरुवात बलियो गर्नुहोस् । व्यवसाय सुरु गर्न ठूलो ठाउँ वा धेरै मानिस नै चाहिन्छ भन्ने छैन, तपाईं आफ्नो सानो भान्साबाटै पनि एकल प्रयासमा काम थाल्न सक्नुहुन्छ ।”
धरानकी स्थायी बासिन्दा गिरी ‘मन्थुना चकलेट्स’ की सञ्चालक हुन् । उनले करिब तीन वर्षअघि नेपालमै केही गर्ने उद्देश्यका साथ चकलेट व्यवसायको जग बसालेकी थिइन्। सुरुवाती दिनहरूमा सबै कुरा सामान्य रूपमा अगाडि बढिरहेको र उनले विराटनगरमा एउटा सानो संरचना तयार पारेर कच्चा पदार्थको जोहो समेत गरिसकेकी थिइन्। तर, व्यवसाय विस्तारकै क्रममा उनले निकै कठिन स्वास्थ्य संकटको सामना गर्नु पर्यो।
अंकिताले आफ्नो संघर्षपूर्ण कथा सुनाउँदै भनिन्, “व्यवसाय सुरु गरेको केही समयमै मलाई मष्तिस्कघात (Brain Hemorrhage) भयो। शरीरको आधा भाग पक्षघात (Paralysis) भएपछि डाक्टरहरूले म फेरि उठ्न सक्दिनँ कि भन्ने आशंका गरेका थिए। त्यो समय मेरो लागि सबै कुरा रोकिए जस्तै भएको थियो।” स्वास्थ्य समस्याका कारण ओछ्यानमै थलिनु पर्दा एकातिर ज्यान जोगाउने चुनौती थियो भने अर्कोतिर आफ्नो सपनाको ब्रान्डलाई स्थापित गर्ने धोको।
तर, दृढ इच्छाशक्ति भएकी अंकिताले हार मानिनन्। निको भएपछि उनले आफ्नो व्यवसायलाई त्यहीँबाट होइन, जहाँबाट रोकिएको थियो, बरु शून्यबाट पुनः सुरु गरिन्। मानिसहरूसँग भेटघाट गर्ने, आफ्नो उत्पादनबारे बुझाउने र बजार विस्तार गर्ने काममा उनी अहोरात्र खटिन्।
उनको यही मेहनतको फलस्वरुप आज ‘मन्थुना चकलेट्स’ नेपालका १४ विभिन्न स्थानमा वितरण च्यानलमार्फत पुगिसकेको छ भने धरानमा उनले आफ्नै छुट्टै आउटलेट समेत सञ्चालनमा ल्याएकी छन्।
स्टार्टअप र महिला उद्यमीहरूलाई प्रोत्साहित गर्दै उनले भनिन्, “जीवन सोचे जस्तो सजिलो र अनुमानयोग्य हुँदैन। कहिले आर्थिक समस्या त कहिले स्वास्थ्य समस्याले बाधा पुर्याउन सक्छ। तर, तपाईंले आफ्नो सपना र योजनालाई बिर्सिनु हुँदैन। आफैमाथि विश्वास राख्नुहोस्। सानो ठाउँबाट सुरु गरेर पनि आफ्नो ब्रान्डलाई ठूलो बनाउन सकिन्छ।”
उनले आगामी दिनमा अरू धेरै महिलाहरूलाई सफल उद्यमीको रूपमा देख्ने इच्छा समेत व्यक्त गरिन्। अंकिताको यो प्रेरणादायी यात्राले नेपालमा सानो लगानी र दृढ संकल्पका साथ अघि बढ्ने युवा उद्यमीहरूका लागि ऊर्जा थपेको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।