लोड हुँदैछ...

मेनु

विराट ट्रेड एक्स्पो थिमेटिक सेसनमा विराटनगर महानगरकी उपप्रमुख शिल्पा निराला कार्की

व्यवसाय र समाजलाई सही दिशा दिन सक्षम मानिसहरू राजनीतिमा आउनुपर्छ

व्यवसाय र समाजलाई सही दिशा दिन सक्षम मानिसहरू राजनीतिमा आउनुपर्छ

विराटनगर । सामान्यतया राजनीतिक कार्यक्रमहरूमा व्यस्त रहने विराटनगरकी उपप्रमुख शिल्पा निराला कार्की आइतबार फरक भूमिकामा देखिइन् । विराट ट्रेड एक्स्पोको ‘थिमेटिक सेसन’ (विषयगत सत्र) मा उनी एक सफल उद्यमी र प्रेरणादायी वक्ताको रूपमा प्रस्तुत भइन् । विद्यार्थी र नव–उद्यमीहरूले भरिएको हलमा उनले आफ्नो शैक्षिक यात्रा, व्यवसायिक संघर्ष र राजनीतिको महत्वका बारेमा विस्तारमा चर्चा गरिन् ।

शिक्षा र सपनाको फ्युजन
शिल्पाले आफ्नो शैक्षिक यात्रा व्यवस्थापन (बिबिएस) बाट सुरु गरेकी थिइन् । तर, उनको रुचि यतिमा मात्र सीमित रहेन । उनले अङ्ग्रेजी साहित्यमा स्नातक र स्नातकोत्तर गरिन् । अहिले पनि उनी अध्ययनमा उत्तिकै सक्रिय छिन् । हाल उनी कानुन बिएएलएलबी तेस्रो वर्षमा अध्ययनरत छिन् । उनले भनिन्, ‘सिक्ने प्रक्रिया कहिल्यै रोकिनु हुँदैन, म आज पनि विद्यार्थी नै हुँ ।’

विवाहपछिको संघर्ष र फेसन डिजाइनिङ
कार्कीले आफ्नो जीवनका सबैभन्दा ठूला उपलब्धिहरू विवाहपछि नै प्राप्त गरेको बताइन् । १२ कक्षा उत्तीर्ण भएलगत्तै विवाह भए पनि उनको करियरमा त्यसले पूर्णविराम लगाएन । उनलाई सुरुदेखि नै फेसन डिजाइनिङमा रुचि थियो, तर तत्कालीन समाज र परिवारको सोच फरक थियो ।

त्यतिबेला फेसन डिजाइन पढ्छु भन्दा ‘अर्काको लुगा सिलाएर बस्ने हो र ? भन्ने प्रश्न गरिन्थ्यो,’ उनले विगत सम्झिइन्, ‘तर मैले हार मानिनँ । श्रीमान् र परिवारलाई मनाएर काठमाडौँको ‘आईसीसी’ कलेजबाट फेसन डिजाइनिङमा स्नातक पूरा गरेँ ।’ त्यसपछि उनले विराटनगरमा आफ्नै बुटिक स्थापना गरिन् । उनले श्रीमानको औद्योगिक व्यवसायमा सहयोग गर्नुका साथै बालबालिकाका लागि पौष्टिक आहार (लिटो) उत्पादन गर्ने सानो उद्योग पनि सञ्चालन गरिन् ।

राजनीतिः नीतिहरूको पनि मूल नीति
कार्कीले व्यवसायिक क्षेत्रमा काम गर्दै गर्दा राजनीतिमा प्रवेश गर्ने निर्णय किन गरिन् त ? यसको उत्तरमा उनी भन्छिन्, ‘म पढेलेखेकी र सक्षम हुँदाहुँदै पनि मलाई शासन गर्ने को हो त ? मैले गर्ने हरेक व्यवसायको निर्णय गर्ने अन्तिम ठाउँ त राजनीति नै रहेछ । राजनीति सबै नीतिहरूको मूल नीति हो । त्यसैले व्यवसाय र समाजलाई सही दिशा दिन सक्षम मानिसहरू राजनीतिमा आउनुपर्छ भन्ने लागेर म यस क्षेत्रमा होमिएँ ।’

उद्यमी महिलाहरूको संस्थाबाट सुरु भएको उनको राजनीतिक यात्रा अहिले नेकपा (एमाले) को केन्द्रीय सदस्य र विराटनगरको उपप्रमुखसम्म पुगेको छ ।

नयाँ पुस्ता लाई सन्देशः स्वदेशमै अवसर खोजौँ
कार्यक्रममा उपस्थित युवा विद्यार्थी र ‘जेन जी’ (नयाँ पुस्ता) लाई सम्बोधन गर्दै उनले विदेश पलायन हुनुको सट्टा स्वदेशमै संघर्ष गर्न आग्रह गरिन् । ‘नेपालमा पैसा छैन, वातावरण छैन भन्न सजिलो छ, तर त्यो वातावरण बनाउने जिम्मेवारी हाम्रो पनि हो,’ उनले थपिन्, ‘मैले व्यवसाय गर्दा धेरै पैसा नकमाएको होला, तर मान्छे कमाएकी छु । त्यही जनसम्पर्कले मलाई आज राजनीतिमा यो स्थानसम्म पुर्‍याएको हो ।’

उनले व्यवसायमा आइपर्ने दर्ता प्रक्रिया, बजार व्यवस्थापन र वित्तीय चुनौतीहरूलाई चिर्दै अघि बढ्न सुझाव दिइन् । पुरुष प्रधान समाजमा महिलालाई उद्यमी बन्न अझै गाह्रो रहेको स्वीकार गर्दै उनले भनिन्, ‘मैले बिहान ७ बजे परीक्षा दिएर आएर ११ बजे घरको भान्सा सम्हाल्दै यहाँसम्मको यात्रा तय गरेकी छु । संघर्ष बिनाको सफलता दिगो हुँदैन ।’

आलोचना र सकारात्मक सोच
सामाजिक सञ्जालमा हुने आलोचनालाई उनी ‘स्वस्थ आलोचना’ का रूपमा लिन्छिन् । उनले भनिन्, ‘गाली गर्नेहरूको पनि आफ्नै अपेक्षा हुन्छ, त्यसलाई सुधार्ने अवसरको रूपमा लिनुपर्छ । तपाईँले समाजलाई जस्तो दिनुहुन्छ, त्यस्तै फिर्ता पाउनुहुन्छ । सेतो बल फाल्नुभयो भने सेतो नै फर्कन्छ, कालो फालेर सेतोको अपेक्षा नगर्नुहोस् ।’

अन्त्यमा, उनले विराटनगर र सिंगो देशको भविष्य उज्ज्वल रहेको र त्यसका लागि सक्षम, शिक्षित र इमानदार युवाहरू राजनीति र उद्यम दुवै क्षेत्रमा सक्रिय हुनुपर्नेमा जोड दिइन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।