विराटनगर । मोरङ उद्योग व्यापार संघको आयोजनामा विराटनगरमा भोलि (बुधबार) देखि सुरु हुने ‘विराट ट्रेड एक्स्पो–२०२५’ को सम्पूर्ण तयारी पूरा भएको छ । आयोजकले मंगलबार एक्स्पो स्थलमै पत्रकार सम्मेलन गरी ११ दिने महोत्सवका लागि आवश्यक सबै भौतिक पूर्वाधार तथा व्यवस्थापकीय तयारी सम्पन्न भएको जानकारी दिएको हो ।
एक्स्पोका संयोजक अमितकुमार शारदाका अनुसार महोत्सवमा स्वदेशी तथा विदेशी गरी कुल २३० वटा स्टलहरू रहनेछन् । यसपटक तीनवटा ठूला ह्याङ्गर (डोम) भित्र २०० भन्दा बढी स्टलहरू निर्माण गरिएका छन् । प्रदर्शनीमा कृषिजन्य, औद्योगिक उत्पादन, कला–संस्कृति, पर्यटन, शिक्षा, स्वास्थ्य र सूचना प्रविधिसम्बन्धी सामग्रीहरू रहनेछन् । नेपालका अतिरिक्त छिमेकी राष्ट्र भारत, बंगलादेश र पाकिस्तानका उत्पादनहरू पनि प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ ।
एक्स्पो केवल व्यापारिक प्रयोजनमा मात्र सीमित नरही ज्ञान र सीपको आदानप्रदानमा समेत केन्द्रित हुने बताइएको छ । महोत्सवको अवधिभर लगातार ८ दिनसम्म स्टार्टअप, महिला उद्यमशीलता, पर्यटन, एआई (कृत्रिम बुद्धिमत्ता), सूचना प्रविधि र नयाँ कर प्रणाली जस्ता समसामयिक ९ ओटा विषयहरूमा ‘थिमेटिक सेसन’ र सेमिनारहरू सञ्चालन गरिनेछन् । यसका लागि आइडिया स्टुडियो र स्विस कन्ट्याक्ट जस्ता व्यावसायिक संस्थाहरूले सहकार्य गरेका छन् ।
मनोरञ्जनतर्फ यसपटक विशेष आकर्षणहरू थपिएका छन् । पहिलोपटक ‘जलपरी’ को प्रदर्शनी, ओपेरा हाउस, थ्री–डी सेल्फी जोन र बाल उद्यानको व्यवस्था गरिएको छ । साथै, सांगीतिक क्षेत्रका पारखीहरूका लागि ‘विराट भोइस’ प्रतियोगिता आयोजना गरिने र उत्कृष्ट विजेतालाई १ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने संयोजक शारदाले जानकारी दिए । महोत्सवमा हरेक दिन राष्ट्रियस्तरका चर्चित ब्याण्ड तथा कलाकारहरू कुमा सागर, रकहेड्स, एलिमेन्ट्स, कुटुम्ब र स्वप्न सुमन लगायतको प्रस्तुति रहनेछ ।
आर्थिक मन्दीको वर्तमान अवस्थामा सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउन यो एक्स्पोले महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकको छ । प्रदर्शनीमा करिब २ लाख दर्शकले अवलोकन गर्ने र २० देखि २५ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने लक्ष्य राखिएको छ ।
पत्रकार सम्मेलनमा एक्स्पो संयोजक अमितकुमार शारदाका अतिरिक्त संयोजक, पाल घरेलु तथा साना उद्योग महासंघ, मोरङका अध्यक्ष चेतन निरोला, उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी, विराट व्यापार संघका अध्यक्ष अंशु बन्जारा, नेपाल उद्योग परिसंघ कोशीका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडा, पर्यटन व्यवसायी भविशकुमार श्रेष्ठ, मोरङ व्यापार संघका निवर्तमान अध्यक्ष नविन रिजाललगायतले एक्स्पो सफल बनाउन सबैले सबै प्रकारको सहयोग गर्नुपर्ने बताए ।
सामाजिक उत्तरदायित्वलाई ध्यानमा राख्दै आयोजकले विद्यालयको पोशाक र परिचयपत्रसहित दिउँसो १ बजेभित्र आउने विद्यार्थीहरू र ६५ वर्षमाथिका ज्येष्ठ नागरिकहरूका लागि निःशुल्क प्रवेशको व्यवस्था गरेको छ । विराटनगरको पहिचान र आर्थिक वृद्धिलाई सहयोग पुर्याउने उद्देश्यले आयोजना गरिएको यो बृहत् मेला पुस १९ गतेसम्म चल्नेछ । प्रदर्शनीको भोलि एक विशेष समारोहका बीच उद्घाटन गरिँदैछ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।