विराटनगर । संसदको अधिवेशन सञ्चालन गर्नका लागि सभाहल नहुँदा कसरी बैठक सञ्चालन गर्ने भन्ने चिन्तामा कोशी प्रदेशसभाको सिंगो सचिवालय नै परेको छ । सरकारका मन्त्रीहरुले प्रदेसभा बैठक बोलाउने मितिको बारेमा मिडियामा पटक पटक मिति फेर्न परिरहनुको पछाडि बैठक सञ्चालन गर्ने ठाउँको अभाव नै मुख्य कारण देखिएको छ ।
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतिरमण भण्डारीले मंसिर दोस्रो साताभित्र प्रदेशसभा बैठक बस्ने भनि केही समय अघि दिनुभएको प्रतिक्रिया बिचमै संशोधन गरी मंसिर अन्तिम पुस दोस्रोहप्ताभित्र बस्ने भनेका थिए । तर कोशी प्रदेशसभा बैठक तत्काल बस्नसक्ने कुनै सम्भावना छैन ।
संविधानअनुसार प्रदेशसभाको दुई अधिवेशनबीचको अवधि ६ महिनाभन्दा बढी हुन नहुने बाध्यात्मक व्यवस्थाले गर्दा अब ७५ दिनभित्र कसरी बैठक सञ्चालन गर्ने र कहाँ गर्ने भन्ने चिन्ता यतिबेला प्रदेशसभा सचिवालयलाई परेको हो ।
सभाहल तथा अन्य अत्यावश्यक संरचना निर्माणका लागि कोशी प्रदेश सरकारले भौतिक पूर्वाधार विकास मन्त्रालयलाई बजेट उपलब्ध गराइसकेको छ । तर मन्त्रालयले उक्त संरचना निर्माणको प्रक्रिाय अगाडि बढाइसकेको छैन । त्यसको डिजाइन, लागत स्टिमेट आदि तयार गर्ने प्रक्रियामै रहेका कारण ठेक्का प्रक्रिाय सुरु भएको छैन । सार्वजनिक खरिद र ठेक्का प्रक्रिया लामो हुने भएकाले निर्धारित समयभित्र काम सक्न कठिन रहेकोले कसरी अगाडि बढ्ने भन्ने द्विविधामा मन्त्रालय पनि रहेको छ ।
लामो ठेक्का प्रक्रियाबाट भन्दा सरकारले छोटो निर्माण प्रक्रियाबाट काम गरेर तत्कालको जटिलता फुकाउन सक्ने सम्भावना भने रहेको कोशी प्रदेशसभाका सचिव सुदर्शन खड्काले बताए । प्रदेशसभा बैठक बस्नका लागि सभाहल निर्माण गर्न समय निकै कम रहेको र बैठक बस्नका लागि आवश्यक सभाहल लगायतका भौतिक संरचनाहरू त्यही अवधिभित्र निर्माण गरिसक्नुपर्ने चुनौती रहेको खड्काको भनाइ छ ।
संवैधानिक व्यवस्थाअनुसार दुई अधिवेशन बीचको अवधि ६ महिनाभन्दा बढी हुन नहुने प्रावधानलाई रहेको भन्दै सचिव खड्काले अबको ७५ दिनभित्र प्रदेशसभाको बैठक बस्नैपर्ने बाध्यात्मक अवस्था रहेको जानकारी दिए । ‘हामीसँग समय निकै कम छ, चैतभित्र बैठक बस्नै पर्ने अवस्थाछ,’ उनले भने, ‘तर बैठक बस्नका लागि आवश्यक सभाहल लगायतका भौतिक संरचनाहरू त्यही अवधिभित्र निर्माण गरिसक्नुपर्ने ठूलो चुनौती हाम्रो सामु छ ।’ उनले विशेष परिस्थितिमा छोटो प्रक्रिया (फास्ट ट्र्याक)बाट निर्माण कार्य अगाडि बढाउन सकिने उपायतर्फ सरकार जान सक्ने बताए ।
कोशी प्रदेशसभाका सचिव खड्काले प्रदेशसभालाई प्रभावकारी र जनमुखी बनाउन सञ्चारकर्मी लगायत सबै पक्षको रचनात्मक सहयोग आवश्यक रहेको पनि बताए । संसदीय पत्रकार मञ्च कोशी प्रदेशका पदाधिकारी तथा सदस्यहरूसँगको विशेष भेटघाटका क्रममा उनले आगामी अधिवेशनको तयारी र सचिवालयका चुनौतीबारे धारणा राखेका हुन् ।

छलफलका क्रममा संसदीय पत्रकार मञ्च कोशी प्रदेशले सचिव खड्कालाई मञ्चले संसदीय रिपोर्टिङलाई व्यवस्थित बनाउन, संसदीय मर्यादा कायम राख्न र संसद्का गतिविधि जनतासम्म पुर्याउन गर्दै आएका कार्यहरूका बारेमा जानकारी गराएको थियो । सो अवसरमा सचिव खड्काले संघीय संसदमा ३० वर्ष कार्य गरेको आफ्नो अनुभव सुनाउँदै संसदीय पत्रकारितालाई अझ परिष्कृत बनाउन महत्त्वपूर्ण सुझावहरू दिएका थिए ।
उनले संसद् सचिवालय र पत्रकार मञ्चबीचको घनिष्ठ समन्वयले मात्रै सुशासन, पारदर्शिता र उत्तरदायित्व प्रवद्र्धन हुने विश्वास व्यक्त गरे । ‘सचिवालय र पत्रकारहरू एउटै रथका दुई पाङ्ग्रा हुन्, मिलेर काम गर्दा मात्रै प्रदेशसभाका गतिविधि पारदर्शी हुन्छन् र लोकतन्त्र बलियो हुन्छ,’ उनले भने । उनले सचिवालयका तर्फबाट सूचना प्रवाहलाई सहज बनाउने र संसदीय समितिहरूका गतिविधिलाई थप प्रभावकारी बनाउन पत्रकारहरूको भूमिका महत्त्वपूर्ण हुने बताए ।
कार्यक्रममा संसदीय पत्रकार मञ्च कोशीका अध्यक्ष कुमार लुईँटेल, सल्लाहकार विवेक गौतमलगायत मञ्चका पदाधिकारी तथा सदस्यहरूले सचिव सुदर्शन खड्कालाई कोशी प्रदेशसभामा स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।