लोड हुँदैछ...

मेनु

भारतबाट तस्करी गरेर ल्याएका अबैध गाडी पहाडी जिल्लामा सञ्चालन भएको पुष्टि

भारतबाट तस्करी गरेर ल्याएका अबैध गाडी पहाडी जिल्लामा सञ्चालन भएको पुष्टि

विराटनगर । ताप्लेजुङबाट यसअघि बरामद भएको शंकास्पद चार पांग्रे सवारी साधन भारतबाट तस्करी गरेर ल्याएका अबैध भएको पुष्टि भएको छ ।

कागजात नभएका शंंकास्पद गाडी सञ्चालनमा रहेको पाइएपछि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गर्दा अबैध भएको पुष्टि भएको हो ।

ताप्लेजुङलगायत पूर्वी पहाडी जिल्लाका ग्रामीण सडकहरूमा अवैध रूपमा चलाइँदै आएका ती बोलेरो गाडीहरू एक महिनासम्म गरिएको अनुसन्धानपछि नियन्त्रणमा सुनसरीको इटहरीस्थित ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक दीपक गिरीका अनुसार भारतबाट चोरी तथा भन्सार छलि ल्याइएका गाडी पहाडी क्षेत्रमा सञ्चालन भइरहेको सूचनाका आधारमा विशेष निगरानी बढाइएको थियो।

नियन्त्रणमा लिइएका गाडीका विषयमा सम्बन्धित आयातकर्ता कम्पनी र दर्ता देखाइएका यातायात व्यवस्था कार्यालयहरूसँग सोधखोज गर्दा कुनै पनि गाडी विधिवत रूपमा दर्ता भएको नपाइएको गिरीले जानकारी दिए । ती गाडीहरूलाई कानुनी प्रक्रिया अघि बढाउन राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने तयारी गरिएको उनको भनाइ छ ।

ट्राफिक प्रहरीका अनुसार कतिपय गाडीमा इन्जिन नम्बर परिवर्तन गरिएको, कतिपयमा अभिलेखअनुसारको इन्जिन नभएको तथा केही गाडी आयातकर्ता कम्पनीबाटै आयात नभएको पुष्टि भएको छ । को १ ज ११११ नम्बरको गाडीमा सवारी दर्ता किताबमा उल्लेख भएको इन्जिन नम्बर परिवर्तन गरिएको पाइएको छ। ना २ च ७२९५ नम्बरको गाडीमा अभिलेखअनुसारको इन्जिन नभएको भेटिएको छ।

यस्तै, ना १ ज १५८३ नम्बरको गाडी यातायात व्यवस्था कार्यालय नारायणीको अभिलेखमा नदेखिएको, ना ३ च ३९२८ नम्बरको गाडी कम्पनीबाट आयात नै नभएको तथा इन्जिन नम्बर रि–पञ्च गरिएको अवस्थामा रहेको जनाइएको छ। ग १ च ६६८४ नम्बरको गाडीसमेत आयातकर्ता कम्पनीले आयात नगरेको र यातायात व्यवस्था कार्यालय गण्डकीले विवरण उपलब्ध नगराएको प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिइएका गाडीका चालक तथा आफूलाई गाडी मालिक बताउने व्यक्तिहरू कागजात लिएर आउने बताएको भएपनि हालसम्म सम्पर्कमा नआएको ट्राफिक प्रहरीले जनाएको छ । ती गाडीहरू अवैध ठहर गरिएको छ । यसबारे थप अनुसन्धान हुने प्रहरीले जनाएको छ ।

एक महिना अगाडि ताप्लेजुङको फुङलिङ नगरपालिकाको विभिन्न स्थानबाट ती सवारी साधन ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि ट्राफिक व्यवस्थापन कार्यालय इटहरी पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।