लोड हुँदैछ...

मेनु

इटहरीमा सडक अलपत्र पार्ने ठेकेदारलाई १५ दिनको अल्टिमेटम

इटहरीमा सडक अलपत्र पार्ने ठेकेदारलाई १५ दिनको अल्टिमेटम

इटहरी । विकास निर्माणका महत्त्वपूर्ण सडक योजनाहरू अलपत्र पारेर ठेकेदार कम्पनीहरू सम्पर्कविहीन बनेपछि सुनसरीको इटहरी उपमहानगरपालिकाले कडा कदम चालेको छ।

पटक–पटकको ताकेता र सूचना बेवास्ता गरेपछि उपमहानगरले विभिन्न सडक योजना अधुरो छाड्ने ७ वटा निर्माण कम्पनीलाई १५ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो ।

उपमहानगरका अनुसार तोकिएको समयभित्र स्पष्टीकरण चित्तबुझ्दो नआए सार्वजनिक खरिद नियमावली २०६४ अनुसार कार्वाही अगाडि बढ्नेछ
। नियमावली अनुसार काम नगर्ने ठेकेदार कम्पनीस्लाई कालोसूचीमा राख्ने, जमानत जफत गर्ने, जरिवाना गर्ने र ठेक्का सम्झौता रद्द गर्ने प्रक्रिया अघि बढाइनेछ।

ठेकेदारको लापरबाहीका कारण सर्वसाधारणको दैनिक आवागमनमा समस्या हुनुका साथै विकास बजेटसमेत जोखिममा परेको उपमहानगरको ठहर छ। उपमहानगरले सार्वजनिक गरेको विवरणअनुसार गिरी कन्स्ट्रक्सन प्रा.लि. ललितपुरले सबैभन्दा धेरै सडक योजना अलपत्र पारेको छ। उक्त कम्पनीले जिम्मा लिएका इटहरी–१७ लबीपुर–मजाह्रा सडक, जतपुर–बिसनपुर पर्खाल निर्माणसँग जोडिएको सडक खण्ड, बिसनपुर–अमाहा सडक ग्राभेल, इटहरी–१४ हुलाकी सडकअन्तर्गत राधाकृष्ण मार्ग स्कुल टोल कालोपत्रे तथा इटहरी–८ सतनमार्ग कालोपत्रे सडक लामो समयदेखि अधुरो अवस्थामा छन् ।

यस्तै, अनु निर्माण सेवा भोजपुरले इटहरी–२० धनपुरी मार्ग सडक कालोपत्रे योजना तथा टेङ्ग्रा खोला कोरिडोरसँग जोडिएको सडक संरचना काम सुरु नै नगरी अलपत्र पारेको उपमहानगरले जनाएको छ। आर.वन. कन्स्ट्रक्सन इटहरीले खनार प्रहरी चौकी–भानु मार्ग सडक निर्माण अधुरो छाडेको छ। स्थानीयस्तरमा अत्यन्तै महत्त्वपूर्ण मानिने यो सडक लामो समयदेखि बिग्रिएको अवस्थामा रहँदा सर्वसाधारण मर्कामा परेका छन् ।

यसैगररि श्री अङ्कित कन्स्ट्रक्सन सिराहा ले इटहरी–६ स्थित सार्वजनिक स्मार्ट शौचालयसँगै जोडिएको पहुँच मार्ग तथा इटहरी–१६ हक्राहा खोलासम्बन्धी सडक संरचना समयमै सम्पन्न नगरेको जनाइएको छ । सडकसँग प्रत्यक्ष जोडिएका अन्य पूर्वाधार योजनासहित एमके कन्स्ट्रक्सन सिराहाले इटहरी–१६ गोइदा खोलाको पुल तथा पहुँच सडक, भैरव–नारायण जे.भी. बाँकेले इटहरी–१५ भोटिया खोलाको पुल र पहुँच मार्ग तथा प्रतिष्ठा गिरी जेभीले इटहरी–९ मा निर्माणाधीन १५ शय्याको अस्पताल भवनसँग जोडिएको सडक संरचना अधुरो अवस्थामा छाडेका छन् ।

उपमहानगरका अनुसार गिरी कन्स्ट्रक्सन, प्रेरा पूर्णचण्डी गिरी जे.भी. र प्रतिष्ठा गिरी जे.भी. एउटै व्यक्ति कुमार गिरीसँग सम्बन्धित कम्पनीहरू हुन् । तिनले फरक–फरक नाममा ठेक्का लिएर काम अलपत्र पारेका हुन् । सम्बन्धित ठेकेदारले भने भुक्तानी ढिलाइ र निर्माण सामग्रीको मूल्यवृद्धिलाई कारण देखाउँदै आएका छन्।

मेयर हेमकर्ण पौडेलले विकास निर्माणलाई ठेकेदारको दया–मायामा छोड्न नसकिने स्पष्ट पार्दै कानुनको दायराभित्र रहेर कडाभन्दा कडा कारबाही गरिने बताएका छन् । उपमहानगरले १५ दिनको समयसीमापछि प्रक्रिया अगाडि बढाउने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।