लोड हुँदैछ...

मेनु

बीपी प्रतिष्ठानमा अब प्रयोगशाला परीक्षण २४ सै घण्टा

बीपी प्रतिष्ठानमा अब प्रयोगशाला परीक्षण २४ सै घण्टा

धरान । सुनसरीकोध रानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिरामी उपचार सेवामा थप सहजता ल्याउने उद्देश्यले सबै प्रयोगशाला सेवा नियमित उपलब्ध गराउने भएको छ ।

अब प्रयोगशालाको सबै परीक्षण सेवा साताको सातै दिन र चौबिसै घण्टा उपलब्ध गराउने व्यवस्था मिलाएको प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानकी प्रवक्ता प्रा.डा. अञ्जु प्रधानका अनुसार अटोमेटिक, सेमी–अटोमेटिक तथा किट–बेस प्रविधिमार्फत गरिने प्रयोगशाला परीक्षणका रिपोर्ट इर्मजेन्सी तथा इएचएस सेवाका बिरामीलाई नमुना प्राप्त भएको दुई घण्टाभित्र र ओपिडी तथा आइपिडी सेवाका बिरामीलाई तीन घण्टाभित्र उपलब्ध गराउने लक्ष्य लिइएको छ। यसका लागि हाल सञ्चालनमा रहेका इर्मजेन्सी ल्याब र रुटिन ल्याबलाई एकीकृत गरी ‘सेन्ट्रल ल्याब’ मार्फत पुस ५ गतेदेखि सेवा सुरु गर्ने निर्णय गरिएको प्रवक्ता प्रधानले जानकारी दिइन् ।

यसअघि इर्मजेन्सी ल्याबबाट सीमित परीक्षण मात्र हुँदै आएकोमा अब सेवा विस्तारपछि सेन्ट्रल ल्याबबाट सम्पूर्ण प्रयोगशाला परीक्षण सेवा प्रत्येक दिन चौबिसै घण्टा उपलब्ध हुने जनाइएको छ। प्रवक्ता प्रधानद्वारा जारी सूचनामा रुटिन र इर्मजेन्सी ल्याबमा छुट्टाछुट्टै नमुना पठाउनुपर्ने दोहोरो प्रक्रिया अन्त्य हुने तथा वार्ड राउण्डका समयमा बिरामीका रिपोर्ट समयमै र सहज रूपमा उपलब्ध हुने अपेक्षा गरिएको उल्लेख छ।

प्रतिष्ठानका अनुसार इर्मजेन्सी, आइपिडी र इएचएस सेवाका लागि नमुना संकलन चौबिसै घण्टा हुनेछ । ओपिडी सेवा तथा बाह्य रेफरलका बिरामीका लागि भने फागुनदेखि कार्तिकसम्म बिहान ७ बजेदेखि अपराह्न ४ बजेसम्म र शुक्रबार बिहान ७ बजेदेखि मध्याह्न १२ बजेसम्म नमुना संकलन गरिनेछ ।

मंसिरदेखि माघ महिनासम्म बिहान ७ बजेदेखि अपराह्न ३ बजेसम्म तथा शुक्रबार बिहान ७ बजेदेखि मध्याह्न १२ बजेसम्म नमुना संकलन हुने प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।