लोड हुँदैछ...

मेनु

क्यासिनो खेल्ने नेपालीसँग ‘भारतीय आधार कार्ड’ (नामसहित)

क्यासिनो खेल्ने नेपालीसँग ‘भारतीय आधार कार्ड’ (नामसहित)

विराटनगर । विराटनगरका तारे होटलभित्र सञ्चालित क्यासिनोहरू विदेशी पर्यटक भित्र्याउने थलो नभई नेपाली नागरिक, युवा व्यवसायी र विद्यार्थीलाई समेत ‘कंगाल’ बनाउने अखडा बनेको तथ्य खुलेको छ ।

मोरङ जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला र मोरङका प्रहरी प्रमुख एसपी कोवित कटुवालको नेतृत्वको टोलीले आइतबार गरेको छापा पछि उक्त कुरा खुलेको हो । त्यसअघिका घटनाक्रमले क्यासिनो सञ्चालक, उच्च प्रहरी अधिकारी र स्थानीय बिचौलियाबीचको ‘सेटिङ’लाई उदाङ्गो पारेको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलको विशेष निर्देशनमा कोइरालाको कमाण्डमा भएको छापामा २० जना पक्राउ परे, जसमा क्यासिनोका उच्च पदस्थ कर्मचारी र जेनजी अभियन्ता समेत छन् । छापा मार्ने क्रममा क्यासिनो छिर्न नेपालीहरूले भारतीय ‘आधार कार्ड’ लाई कवच बनाउने गरेको खुल्यो । कोइराला भन्छन्, ‘विराटनगरका क्यासिनो प्लेयर हरेक व्यापारीले भारतीय आधार कार्ड बनाएका छन् । उनीहरू इन्डियन भनेर छिर्छन् । यसपालि हामीले आधार कार्ड मात्र मानेनौँ, ‘डबल भेरिफिकेसन’ गर्यौँ । एटीएम कार्ड, लाइसेन्स र अन्य परिचयपत्र माग्दा उनीहरू नेपाली भएको पुष्टि भयो र रंगेहात समातिए ।’

क्यासिनोको लतले विराटनगरका ठूला व्यापारिक घरानाका युवाहरू टाट पल्टिने अवस्थामा पुगेका छन् । ‘हामीलाई पटक–पटक पीडित परिवारका सदस्यहरू आएर गुनासो गरिरहनुभएको थियो । हामी बर्बाद भयौँ, हाम्रो घरबार सकियो, छोरो र श्रीमानलाई क्यासिनोको लत लाग्यो, प्रशासनले किन नहेरेको ? भनेर रुवाबासी नै हुन्थ्यो । अर्कोतिर मिडियाले पनि नेपालीहरू खुलामखुल्ला क्यासिनो गइरहेका छन’ भनेर लेखिरहेको थियो । त्यसैले हामी उपयुक्त मौकाको पर्खाइमा थियौँ,’ कोइरालाले भने । उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाका अनुसार औद्योगिक घरानाका युवाहरू क्यासिनोमा नियमित जाने र डुब्ने गरेका छन् । मारवाडी समुदायका एक अगुवा भन्छन्, ‘प्रहरीको कडाई नहुँदा हाम्रा छोराछोरी र युवा व्यवसायीहरू क्यासिनोमा बर्बाद भए । व्यापार चौपट भयो, तर सार्वजनिक रूपमा भन्न पनि लाजमर्दो अवस्था छ ।’

क्यासिनो सञ्चालकहरूले नेपाली नछिराएको दाबी गरे पनि वास्तविकतामा विराटनगरका मात्र नभई झापा र सुनसरीका नेपालीहरू समेत यहाँको क्यासिनोमा लाखौँको दाउ थापिरहेका छन् । क्यासिनो नियमावली, २०७० अनुसार क्यासिनोहरूमा आधुनिक अटोमेटिक मेसिनबाट मात्र खेल खेलाउनुपर्ने प्रावधान छ । तर, विराटनगरका क्यासिनोहरूले यो नियमको धज्जी उडाउँदै हातैले तास र कौडा (लाइभ गेम) खेलाइरहेको सुरक्षा स्रोत नै दाबी गर्छ ।

अपरेशनका क्रममा पक्राउ परेका एक ‘जेन्जी’ अभियन्ताको उपस्थिति झनै आश्चर्यजनक थियो । सहायक सिडिओ कोइरालाका अनुसार ती अभियन्ता दिउँसो प्रशासनमा आएर ‘सुशासन भएन’ भन्दै बबाल गर्थे, तर राति क्यासिनोको पे–कार्ड बोकेर जुवाको खालमा भेटिए ।

अहिले पक्राउ परेका २० जनालाई जुवा ऐन अन्तर्गत मुद्दा चलाउने प्रक्रिया अघि बढेको छ । तर, क्यासिनो सञ्चालकहरूको पहुँच र प्रहरीसँगको सम्बन्ध हेर्दा यो कारबाही कति टिक्छ भन्नेमा सर्वसाधारणको आशंका छ । सहायक सिडिओ कोइरालाले भनेका छन्, ‘यसले एउटा कडा सन्देश गएको छ ।’

प्रशासनले अब आधार कार्ड देखाउने ‘नक्कली भारतीय’ हरूमाथि मात्र होइन, उनीहरूलाई प्रवेश दिने होटल र क्यासिनोका सञ्चालकहरूमाथि पनि उत्तिकै कडाई गर्नुपर्ने दबाब बढेको छ । ‘यो चोटी हामीले एउटा कडा सन्देश दिन खोजेका छौँ कि जुनसुकै बेला प्रशासन र प्रहरी आउन सक्छ । पक्रेर अहिले नै छोड्ने कुरै छैन, सबैलाई जुवा मुद्दा चलाउने हो । प्रहरीलाई त हामीले पटक–पटक भनेकै थियौँ, तर यसपालि सिडिओ साबले तपाईं आफैँ जानुस् भनेपछि म आफैँ फिल्डमा गएको हुँ । काम प्रभावकारी भएको छ,’ उनले भने । रत्ना होटलमा सम्राट क्यासिनो प्रा.लि. सञ्चानमा छन् । दुवै कम्पनीका संचालक को हुन् भन्ने विषय प्रशासनले औपचारिक रुपमा खुलाएको छैन । तर, सुरक्षा स्रोतका अनुसार होटल बिगको क्यासिनो एमालेका केन्द्रीय सदस्यसमेत रहेका पर्शुराम बस्नेतको लगानी छने भने रत्ना होटलको क्यासिनोमा काँग्रेसका स्थानीय नेतासमेत रहेका अभिषेक गिरीको लगानी छ । ‘दुवै जनाको लगानी हो । तर, आधिकारिक कागजमा उनीहरुको नाम नहुन सक्छ,’ उक्त स्रोतले भन्यो ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाले क्यासिनोमा नेपालीलाई खेलाएको विषय अनुसन्धान हुने बताए । ‘पक्राउ परेकाहरुलाई जुवा ऐन अन्तर्गत कारबाही हुन्छ । संचालक को हो त्यस विषयमा अनुसन्धान गरेर दर्ता, नवीकरणको अवस्थाबारेमा हामी कम्पनी रजिष्टर कार्यालयसँग पनि कागजात माग्छौं,’ कोइरालाले भने, ‘आधिकारिक लगानीकर्ता को हुन् भन्ने विषय हामीले खोजिरहेका छौं ।’

क्यासिनो सञ्चालन नियमावली, २०७० अनुसार क्यासिनो सञ्चालन गर्न इजाजतपत्र लिन चाहने कम्पनीले निवेदन दस्तुरवापत १० लाख रुपैयाँ बुझाउनुपर्छ भने आधुनिक मेसिन वा उपकरणको माध्यमबाट मात्र खेलाइने खेलको हकमा त्यस्तो क्यासिनो कम्पनीले ५ लाख रुपैयाँसहित विभागमा निवेदन दिनुपर्छ । इजाजतपत्र दस्तुरका लागि भने ठुला क्यासिनोका लागि २ करोड रुपैयाँ र साना क्यासिनोका लागि एक करोड रुपैयाँ लाग्ने व्यवस्था सोही नियमावलीमा गरिएको छ । तर, क्यासिनो सञ्चालन गर्न चाहने कम्पनीले निर्धारित अर्थात् तोकिएको एक वर्षको रोयल्टी रकम बराबरको बैंक ग्यारेन्टी विभागमा बुझाउनुपर्छ । क्यासिनोमा नेपालीलाई प्रवेश निषेध गरिएको छ ।

क्यासिनोमा पक्राउ परेका नेपालीहरू
बिग होटलको क्यासिनोबाट पक्राउ गरिएकाहरू
१) जि. काभ्रे बनेपा–११ बस्ने वर्ष ४५ को रामकृष्ण गौतम । (क्यासिनोको डाइरेक्टर भनि बताउने कार्ड नभएको)
२) जि. बैतडी दशरथचन्द नपा–८ बस्ने वर्ष ५३ को हरी भट्ट । (क्यासिनोको डाइरेक्टर भनी बताउने कार्ड नभएको)
३) जि. बैतडी दशरथचन्द नपा–५ बस्ने वर्ष ४१ को सुरेन्द्र बहादुर चन्द । (क्यासिनोको स्टाफ भनी बताउने कार्ड नभएको)
४) जि. मोरङ विराटनगर मनपा–६ बस्ने वर्ष ५५ को खेम श्रेष्ठ । (क्यासिनोको सेक्युरिटी इन्चार्ज कार्ड भएको)
५) जि. झापा बिर्तामोड नपा–२ बस्ने वर्ष ४५ को मेदनी शिवाकोटी । (क्यासिनोको स्टाफ कार्ड भएको)
६) जि. मोरङ विराटनगर मनपा–८ बस्ने वर्ष ३६ को साजन साह ।

ख) रत्ना होटलको क्यासिनोबाट पक्राउ गरिएकाहरू
१) जि. सोलुखुम्बु लिखुपिके गापा–६ घर भई हाल जि. मोरङ विराटनगर मनपा–११ बस्ने वर्ष ४३ को लोकेन्द्र बहादुर बस्नेत । (क्यासिनोको संचालक)
२) जि. मोरङ विराटनगर मनपा–७ बस्ने वर्ष ३९ को पवन गोस्वामी ।
३) जि. मोरङ विराटनगर मनपा–१ बस्ने वर्ष २६ को कृष्ण कुमार कुर्मी । (क्यासिनोको डान्सर बताउने आईडी नभएको)
४) जि. मोरङ विराटनगर मनपा–१ बस्ने वर्ष २४ को बबिक कुमार मण्डल । (क्यासिनोको डान्सर बताउने आईडी नभएको)
५) जि. काठमाडौं मनपा–१५ घर भई जि. मोरङ विराटनगर मनपा–५ बस्ने वर्ष ३१ को राज लामा । (क्यासिनोको डान्सर बताउने आईडी नभएको)
६) जि. सुनसरी इटहरी उपमनपा–५ बस्ने वर्ष २७ को रुपेश दाहाल । (क्यासिनोको डान्सर बताउने आईडी नभएको)
७) जि. मोरङ सुन्दरहरैचा नपा–४ बस्ने वर्ष २३ को आदेश वि.क. । (क्यासिनोको डान्सर बताउने आईडी नभएको)
८) जि. मोरङ बुढीगंगा गापा–२ बस्ने वर्ष ४२ को महम्मद जाकिर हुसेन ।
९) जि. मोरङ विराटनगर मनपा–१ बस्ने वर्ष ४५ को तेजराज गिरी ।
१०) जि. झापा दमक नपा–४ बस्ने वर्ष ५५ को घनश्याम शर्मा ।
११) जि. मोरङ कटहरी गापा–४ बस्ने वर्ष २६ को सुरज राय ।
१२) जि. उदयपुर चौदण्डी गापा–५ बस्ने वर्ष ३८ को सन्तोष बस्नेत ।
१३) जि. सुनसरी इटहरी उपमनपा–८ बस्ने वर्ष २९ को प्रमोद घिमिरे ।
१४) झापा मेचीनगर नपा–७ घर भई हाल जि। मोरङ विराटनगर मनपा–६ बस्ने वर्ष ४० को रोशन गिरी ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।