विराटनगर । प्रतिनिधि सभा पुनर्स्थापनाका पक्षमा नेपाली कांग्रेस र नेकपा एमालेले बहुमत निवर्तमान सांसदहरूको हस्ताक्षर जुटाएका छन्। २७५ सदस्यीय प्रतिनिधि सभामा १३८ सांसदले बहुमत हुन्छ।
एमालेका ७५ र कांग्रेसका ६६ निवर्तमान सांसदले पुर्नस्थापनाको पक्षमा हस्ताक्षर गरेका हुन्। एमालेले मंसिर १० गते ७५ सांसदको हस्ताक्षर सर्वोच्च अदालतमा बुझाइसकेको छ।
एमालेले विघटित प्रतिनिधि सभाका सांसदहरूको पार्टी कार्यालय च्यासलमा बैठक राखेर हस्ताक्षर गराएको थियो। एमालेले उक्त बैठकबाट विघटित प्रतिनिधि सभामा दलका मुख्य सचेतक महेश बर्तौला र सचेतक सुनिता बराललाई रिट लिएर जान अख्तियारी दिएको थियो ।
रिट दायर गर्दा एमालेले ७५ सांसदको हस्ताक्षरको सूचीसमेत सर्वोच्च अदालतमा बुझाएको छ। कांग्रेसले भने प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भनेपनि पार्टी निर्वाचनको पक्षमा खडा हुने निर्णय गरेको थियो।
तर मंसिर २३ गते कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे र सचेतक सुशीला थिङसहित ८ सांसदले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। कांग्रेसले सोही रिटमा पक्ष कायम गर्न माग गर्दै थप ५८ निवर्तमान सांसदहरूलाई छुट्टाछुट्टै हस्ताक्षर गराएको हो।
नेपाली कागजमा गराइएको हस्ताक्षर मार्फत् सांसदहरूले अब घिमिरेले दायर गरेको मुद्दामा आफूलाई पनि पक्ष कायम गराउन माग गर्नेछन्। कांग्रेसका शीर्ष नेताबाहेक सबै सांसदहरुले रिटमा पक्ष कायम गर्ने कागजमा हस्ताक्षर गरिसकेका छन्।
कांग्रेसले सोमबार हस्ताक्षर सर्वोच्च अदालतमा बुझाउने तयारी गरिरहेको छ। कांग्रेस सांसदहरूले हस्ताक्षर गर्ने क्रम जारी रहेको जनाएपछि शेखर कोइराला, विश्वप्रकाश शर्मा, गगन थापा, पूर्णबहादुर खड्का र शेरबहादुर देउवाले हस्ताक्षर गरेका छैनन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।